– विश्वास खड्काथोकी
काठमाडौँ, १ जेठ । बल्खुको रातोघर अर्थात स्वदेश तथा विदेशका लाखौँ एमालेजनको आस्थाको घर । बैशाख १२ गतेको महाभूकम्पले देशकै दोस्रो ठूलो दल नेकपा एमालेको बल्खुस्थित यो मुख्यालय कामै नलाग्ने गरी क्षतिग्रस्त बनाइदिएको छ । झण्डै ढल्ने अबस्थामा पुगेको यो भवन सुरक्षाको दृष्टिकोणले पनि खतरा रहेको एमाले नेताहरु बताउँछन् ।
भूकम्पले भवन क्षतिग्रस्त भएपछि एमालेले टेन्टबाटै आफ्नो पार्टी गतिविधि सञ्चालन गरिरहेको छ ।
शुक्रबार पार्टी मुख्यालय बल्खुमा भेटिएका एमाले महासचिव ईश्वर पोखरेलले भूकम्पले कार्यालय बस्नै नहुने गरी भत्किएको जानकारी दिनुभयो । कार्यालय तल्लो तलाबाटै क्षतबिक्षत बनेको छ । कार्यालय अगाडि टाँगिएका आधा दर्जन टेन्टबाट एमाले हेडक्वार्टर चलिरहेको छ । नेता कार्यकर्ताहरु त्यहीँ भेट हुन्छन् । पार्टीका बैठक र छलफलहरु पनि टेन्टभित्रै हुने गरेको छ ।
‘हामीले इन्जिनियरलाई देखाइसकेका छौँ’,’ महासचिव पोखरेलले दैनिक नेपालसँग भन्नुभयो, ‘उनीहरुको सुझाव अनुसार अब पुरानो कार्यालयमा काम गर्न र बस्न सकिँदैन । भवन भत्किए पनि सामानहरु चाँहि सुरक्षित तरिकाले निकालिसकेका छौँ ।’
अब केही समय भाडामा घर लिएर कार्यालय सञ्चालन गर्ने महासचिव पोखरेलले बताउनुभयो । ‘अब केही समय भाडामा चलाउछौँ र छिट्टै कार्यालय निर्माणमा जुट्नेछौँ’, महासचिव पोखरेलले भन्नुभयो, ‘कार्यालय निर्माणको लागि ठूलो बजेट लाग्ने भए पनि दुई तीन लाख पार्टी सदस्य भएकाले भवन निर्माणमा समस्या हुँदैन ।’
यसो त एमालेले यसअघि पनि यो भवन पुरानो र साँघुरो भएको भन्दै नयाँ भवन निर्माण अभियान थालेको थियो । जसको नेतृत्व पार्टी महासचिव पोखरेलले गर्दै आउनुभएको छ ।
दिंवगंत नेता मदन भण्डारी महासचिव रहेकै बेला २०४७ सालदेखि बल्खुको यो जग्गा किन्न थालिएको थियो । पार्टी खुल्ला राजनीतिमा आएपछि २०४७ साल बैशाख १६ गते तत्कालिन महासचिव भण्डारीले बागबजारमा पार्टी कार्यालय स्थापना गर्नुभएको थियो । त्यसलगत्तै देशव्यापी पार्टी कार्यालय खुल्ने क्रम सुरु भएको थियो ।
२०४७ सालमा आठ रोपनी किनिए पनि मदन भण्डारीपछि महामचिव बनेका माधव नेपालले आफ्नो निजी जग्गा बिक्रीबाट आएको रकमबाट २०५८ सालतिर यहीँ पार्टीका लागि एक रोपनी जग्गा किनिदिनुभएको थियो । बाँकी १ रोपनी पार्टीकै रकमबाट किनिएपछि अहिले बल्खुमा एमालेको १० रोपनी जग्गा छ ।

भवनको निर्माण भने २०५१ सालमा एमालेका तत्कालिन उपमहासचिव वामदेव गौतमको नेतृत्वमा भएको थियो । भवन निर्माण गर्दा एक करोड २८ लाख रुपैँया खर्च भएको बताइएको छ ।

















प्रतिक्रिया