
काठमाडौं, १ जेठ । गत वैशाख १२ गतेको भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोक जिल्लाका भूकम्प पीडितलाई तराईका जनताले राहत सहयोग गरेका छन् ।
नेकपा एमाले मोरङ क्षेत्र नम्बर १ का सभासद ऋषिकेश पोखरेलको पहलमा तराईका जनताले राहत सामग्री संकलन गरेर सिन्धुपाल्चोकमा भूकम्पबाट बढी क्षति भएको पांग्रेटार गाविसमा राहत पठाएका हुन् ।

संकलित खाद्यान्न लगायत राहत सामाग्री सभासद ऋषिकेश पोखरेलले विहीबार एमाले पोलिटव्यूरो सदस्य अरुण नेपाललाई हस्तान्तरण गर्नभएको छ ।
पांग्रेटारका स्थानीय बासिन्दा समेत रहेका नेता नेपालले विनाशकारी भूकम्पमा आमा गुमाउनुभएको थियो । यस्तै, प्रेरणा नेपाल र बोष्ट एजुकेशनल सर्भिसेज प्रालिले पनि संयुक्त रुपमा संकलन गरेको राहत सामग्री नेता नेपाललाई नै हस्तान्तरण गरिएको छ ।
पांग्रेटारका भूकम्प पीडितको सहयोगार्थ संयुक्त रुपमा संकलित उक्त राहत सामग्रीको जिम्मा लिँदै नेता नेपालले राहतलाई भूकम्प पीडितको घर-घरमा पुर्याउने बताउनुभयो ।

प्रेरणाका अध्यक्ष विष्णु पोखरेलका अनुसार संयुक्त रुपमा संकलित दरि ५०० थान, चामल ३०० बोरा, चिनी ४ बोरा, खाने तेल १० कार्टुन, चिउरा ३ बोरा, गहुँको पिठो १२ बोरा, दालमोट १ बोरा, नून ३ बोरा, दाल ४ बोरा, चाउचाउ १० कार्टुन, क्रिस्पी टोस २५ कार्टुन, बिस्कुट २० कार्टुन, टोस ६ कार्टुन, नमकिन बिस्कुट ३ कार्टुन, साबुन, सर्फ़, टूत्पेस्ट ३ कार्टुन, लेडिज कपडा १ कार्टुन, बच्चाको कपडा १ कार्टुन, कपडा जेन्स १ कार्टुन, औषधि २० कार्टुन राहत सामग्री एमाले नेता नेपाललाई हस्तान्तरण गरिएको हो ।
उक्त राहत सामग्री पनि पांग्रेटारका भूकम्प पीडितलाई नै बाँडिने छ ।





















प्रतिक्रिया