काठमाडौँ, १ जेठ । अरब सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका पूर्वी तथा मध्य भेगमा मौसम बदली भएको छ ।
उक्त वायुको प्रभावले आज साँझपख मेघ गर्जनसहित पानी पर्ने मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । “खासगरी पूर्वी र मध्यपहाडी भेगमा बदली भएको छ, साँझ एक दुई घन्टा पानी परे पनि मौसम बदली चाहिँ रहिरहने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो ।
अरब सागरबाट दक्षिण पश्चिमी भेगबाट भारतको महाराष्ट्र, मध्यप्रदेश र उत्तर प्रदेश हुँदै प्रवेश गरेको उक्त वायु नेपालमा पनि दक्षिण पश्चिमी भेग चितवन क्षेत्रबाट प्रवेश गरेको जनाइएको छ ।
पश्चिम र सुदूरपश्चिमका तराई भेगमा मौसम सफा रहे पनि पहाडी क्षेत्रमा हल्का मौसम बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ भूकम्पको त्रासदीमा रहेका प्रभावित क्षेत्रका जनतामा मौसमको प्रतिकूलताले थप त्रास थपिदिएको छ । तथापि मौसम र भूकम्पको कुनै सम्बन्ध नहुने भएकाले यसबाट त्रसित नहुन विज्ञले आग्रह गरेका छन् । रासस















प्रतिक्रिया