५ कार्तिक २०८३, बिहिबार

मंगलबारको भूकम्पबाट रेडियो मेरो एफएममा क्षति, प्रशारण बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mero-fm-ktmकाठमाडौं, ३१ वैशाख । मंगलबार गएको शक्तिशाली भूकम्पबाट राजधानीबाट प्रशारण भइरहेको लोकप्रिय रेडियो मेरो एफएममा क्षति पुगेको छ । आम नागरिकलाई सूचना दिन नियमित १८ घण्टा प्रशारण हुँदै आएको रेडियो कार्यालयमा भूकम्पले क्षति पुर्‍याएपछि प्रशारण सेवा बन्द भएको हो ।

गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पमा सामान्य क्षति पुगेको रेडियो मेरो एफएममा मंगलबारको भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएपछि प्रशारण सेवा बन्द गरिएको मेरो एफएमका कार्यक्रम संयोजक हरि बल्लभ नेपालले जानकारी दिनुभयो ।

‘पहिलो पटक आएको भूकम्पपमा सामान्य क्षति भएर प्रशारण सेवा पुर्णरुपमा सञ्चालन गरेका थियौं, भूकम्पका सबै अपडेट कभरेज सबै गरेका थियौं,’ उहाँले भन्नुभयो ।

मंगलबारको भूकम्पले रेडियोको एन्टिना, भित्र पोस्रेर एन्टिनको डाइपोल, अन इयरमा रहेका कम्प्युटर, टेलिफोन हाइव्रिड लगायतका सामग्रीमा क्षतिमा पुगेको कार्यक्रम संयोजक नेपालले बताउनुभयो । ‘घरमा पनि क्षति पुगेको छ, भर्‍याङ लडेको छ, सात तलामाथि अफिस छ, त्यहाँबाट प्रशारण गर्न नसक्ने भयौं ।’ उहाँले भन्नुभयो ।

उहाँले श्रोताको सूचनाको अधिकारलाई स्थापित गर्न आफूहरु रेडियो प्रशारणका लागि पहल गरिरहेको बताउनुभयो । ‘भुईतलाबाट चलाउने प्रयास गर्दै छौं । अहिलेसम्म हाम्रो प्रयास सफल भइसकेको छैन् ।’

यसैबीच मंगलबारको भूकम्पले क्षतिग्रस्त रेडियो मेरो एफएमको डिल्लीबजार स्थित कार्यालयको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले निरीक्षण गर्नुभएको छ । उहाँसँगै एमाले केन्द्रीय सदस्य ठाकुर गैरै, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, महासचिव माधव नेपालले पनि क्षतिग्रस्त अवलोकन गर्नुभएको कार्यक्रम संयोजक नेपालले जानकारी दिनुभयो ।

अवलोकन निरीक्षण गर्दै एमाले प्रचारविभाग प्रमुख भट्टराईले तत्काल रेडियो सूचारु गर्ने वातावरण सिर्जना गर्न टेन्टहरु उपलब्ध गराउने बताउनुभयो । साथै क्षतिपूर्तिका लागि सरकारसँग पहल गर्ने बचवद्धता समेत जनाउनुभयो ।

अवरुद्ध रेडियो सेवा सूचारु गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहयोग गर्ने बताएपनि सहयोग नगरेको मेरो एफएमले गुनासो गरेको छ । ‘सिडियोसँग कुरा गर्दा टेन्ट दिन्छौं भन्नुभयो । तर बेलुका ल्याउन जाँदा पाल जस्तो सानो वस्तु देखाएर हामीसँग यो मात्रै छ भन्नुभयो । त्यो बस्तुबाट काम नचल्ने भएपछि हामी रित्तै हात फर्किन बाध्य भयौं ।’

रेडियो मेरो एफएम सिआईनको अकोराब सदस्य संस्था पनि हो । कार्यक्रम संयोजक नेपालले रेडियोलाई आपत पर्दा कुनैपनि पनि संस्थाले समस्या समाधानमा सहयोग नगरेको गुनासो गरे । ‘देखावटी सहयोग धेरै हुन्छ । तर, पीडा पर्दा कसैले वास्ता गरेको पाइएन् । बास्तविकतालाई अवलोकन गर्न संघसस्थाहरु आएदिए हुन्थ्यो ।’

अरुको सहयोग नपाएपनि श्रोताको माया र विश्वासले पुनःप्रशारणमा ल्याउन प्रयास गरिरहेको रेडियोले जनाएको छ । ‘हामी जसरी हुन्छ प्रशारणमा ल्याउने प्रयासमा छौं । यति खेर सञ्चार माध्यम प्रभावकारी हुने भएपछि आफै क्षतिमा परेर स्रोतालाई सूचना पुर्‍याउन नसक्दा दुःखी छौं । स्रोतासँग माफि पनि माग्छौं ।’ नेपालले भन्नुभयो ।