काठमाडौँ, २६ वैशाख । यही वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’बाट हालसम्म सात हजार ९१३ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार घाइतेको सङ्ख्या १७ हजार ८७१ पुगेको छ ।
यसैबीच, यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण काठमाडौँ जिल्लामा मात्र हालसम्म एक हजार २२२ जनाको मृत्यु भएको छ । एक हजार २०० को शव सनाखत गरी आफन्तको जिम्मा लगाइएको र सनाखत गरी जिम्मा लगाउन बाँकी २२ शव विभिन्न अस्पतालमा रहेका छन् ।
जिल्ला विपत् व्यवस्थापन समिति काठमाडौँका अनुसार चार हजार ६३४ जना घाइते भएका छन् जसमध्ये दुई हजार ८६२ जना उपचारपश्चात घर फर्किसकेका छन् ।
“भूकम्पपश्चात काठमाडौँमा उद्धार तथा राहतका क्रियाकलाप निरन्तर रूपमा सञ्चालन भइरहेका छन् । ती कार्यहरूको जिल्ला प्रशासन कार्यालयबाट निरन्तर रूपमा अनुगमन र सहजीकरण भइरहेका छन्”–प्रमुख जिल्ला अधिकारी एवम् व्यवस्थापन समितिका अध्यक्ष एकनारायण अर्यालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भूकम्पमा परी मृत्यु हुनेको किरिया खर्च बापत प्रति मृतक रू चालिस हजारका दरले वितरण गर्न सम्बन्धित नगरपालिकामा पठाइएकोमा एक हजार १५५ मृतकको परिवारलाई वितरण गरिसकिएको र वितरण कार्य जारी रहेको जनाइएको छ । रासस












प्रतिक्रिया