३० आश्विन २०८३, शुक्रबार

शिक्षा कार्यालयले भूकम्पपीडितलाई ६२ लाख राहत रकम दियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaपाँचथर, २१ वैशाख । विनाशकारी भूकम्पबाट पीडित भएकाहरुका लागि जिल्ला शिक्षा कार्यालय पाँचथरले ६२ लाख रुपैयाँभन्दा बढी राहत रकम प्रदान गरेको छ ।

कार्यालयका कर्मचारी तथा शिक्षकशिक्षिकाको तलब कट्टा गरी कुल ६२ लाख ३२ हजार ८३८ रुपैयाँ राहत रकम प्रदान गरिएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो–“देश नै यत्रो महासङ्कटमा परेको बेला हामी राष्ट्रसेवक कर्मचारीको सानो प्रयासले पनि केही भूकम्पपीडितलाई राहत मिल्छ ।”

यस्तै अहिलेसम्म जिल्ला दैवी प्रकोप उद्धार समिति पाँचथरले जिल्लाका पूर्ण रुपमा घर भत्किएका २१ घरपरिवारलाई पाँच हजार रुपैयाँ तथा त्रिपाल त्यस्तै घर चर्केर बस्न नहुने १४३ घरपरिवारलाई तीन हजार रुपैयाँ तथा एउटा त्रिपालका दरले राहत रकम प्रदान गरिएको जिल्ला दैवी प्रकोप उद्धार समिति पाँचथरका अध्यक्ष तथा प्रजिअ प्रदीपराज कँडेलले जानकारी दिनुभयो ।

अहिलेसम्म उक्त परिवारका लागि पाँच लाख ३४ हजार रुपैयाँ राहत रकम र सामग्री प्रदान गरिसकिएको जिल्ला दैवी प्रकोप उद्धार समिति पाँचथरले जनाएको छ । जिल्लाका अधिकांश गाविस भूकम्पपीडितका लागि राहत रकम र सामग्री प्रदान गरिसकिएको र अब केही गाविसका भूकम्पपीडितलाई मात्रै राहत रकम प्रदान गर्न बाँकी रहेको प्रजिअ कँडेलले जानकारी गराउनुभयो ।

अहिलेसम्म उद्योग वाणिज्य सङ्घ पाँचथरका अध्यक्ष मित्रप्रसाद काफ्लेले व्यक्तिगत रुपमा एक लाख ११ हजार १११ रुपैयाँ, स्थानिय व्यापारी सोम थापाद्वारा २५ हजार ५०० रुपैया, अलैँची व्यवसायी महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक नेपालद्वारा २५ हजार रुपैयाँ राहत रकम सङ्कलन गरेका छन् । अहिले पनि राहत रकम तथा सामग्री सङ्कलन कार्य जारी राखिएको छ । शिक्षा कार्यालयको रकम तथा अन्यबाट गरी अहिले जिल्ला दैवी प्रकोप उद्धार समितिमा ६३ लाख ८३ हजार ८७७ रुपैयाँ रकम रहेको प्रजिअ कँडेलले बताउनुभयो । रासस