गोरखा, १३ वैशाख । शनिबार गएको महाभूकम्पबाट गोरखामा ज्यान गुमाउनेको संख्या आज बिहानसम्म ११८ जना पुगेको छ ।
बारपाक केन्द्रबिन्दु भएर गएको भुइँचालाले गर्दा दुई नगरपालिका र ६० गाविसमा गरी सयौँ घाइते र १० औँ हजार घर भत्किएको प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाले बताउनुभयो ।
उद्धारमा सहयोग पु¥याउन दुर्गम ठाउँमा अहिलेसम्म पनि पुग्न नसकिएको बताएको छ ।
यसैबीच, उद्धार र राहतका लागि पोखराबाट आज बिहानै चिकित्सकसहितको टोली भूकम्पले अति प्रभावित गोर्खाको बारपाक क्षेत्रतर्फ गएको छ ।
टोलीमा पोखरास्थित मणिपाल शिक्षण अस्पतालका बरिष्ठ चिकित्सकहरु रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो ।
कास्कीमा भौतिक र मानवीय क्षति कम भएपछि बढी प्रभावित जिल्लाहरुमा आवश्यक पर्ने उद्धार र राहतको लागि सम्पूर्ण तयारी गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार औषधि, ४० सिलिण्डर अक्सिजन ग्याँस, पाल र त्रिपाल लगायतका बन्दोबस्तीका सामानसहितको अर्को एक उद्धार टोली पनि गोर्खातर्फ लागेको छ । आवश्यक परे थप उद्धारकर्मी र राहतका सामाग्री पठाउने तयारी भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय पोखराका उपसचिव रामजीप्रसाद कोइरालाका अनुसार क्षेत्रीय प्रशासन कार्यालय उद्धार र राहत वितरणको लागि तम्तयार अवस्थामा छ ।
बढी क्षति भएका जिल्लाहरुमा आवश्यक पर्ने उद्धारकर्मी, राहतका सामाग्रीको जोहो हुँदैछ भने सबै जिल्लाको बस्तुस्थिति बुझ्ने काम पनि तदारुकताका साथ भई रहेको छ । पोखरा र आसपासका क्षेत्रको भ्रमणमा आएका सबै पर्यटकहरु सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।
यता भूकम्पबाट कम मानवीय र भौतिक क्षति ब्यहोरेको कास्कीमा आज अपरान्हसम्म क्षतिको सबै बिवरण प्राप्त हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।














प्रतिक्रिया