नयाँदिल्ली, ११ वैशाख । भारतमा भूमिसुधार योजनाको विरोध गर्दै एक किसानले आत्महत्या गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले समस्याग्रस्त किसानलाई सहयोग गर्न सबै राजनीतिक दललाई मिलेर काम गर्न बिहीबार आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले व्यापारका लागि भूमि प्राप्त गर्न सजिलो बनाउन तयार गर्नुभएको योजनाको विरोधमा एक दिन अगाडि भेला भएका सयौँ व्यक्तिसामू गजेन्द्र सिंहले आत्महत्या गरेपछि भारतका समाचार च्यानलहरूमा यस घटनाले ठूलो स्थान प्राप्त गरेको छ ।
मरुभूमियुक्त राज्य राजस्थानमा बसोबास गर्ने तीन सन्तानका पिता सिंहले राजधानी नयाँ दिल्लीको केन्द्रमा प्रदर्शनको समयमा एक रुखमा आफूलाई झुण्ड्याएपछि निजलाई अस्पताल लैजाँदा निजको मृत्यु भएको घोषणा गरिएको थियो ।
उदास देखिनुभएका प्रधानमन्त्री मोदीले आफ्ना सहकर्मी तथा प्रतिद्वन्द्वीहरूलाई किसानको युगौँ पुरानो आत्महत्याको समस्या समाधान गर्न संयुक्त रूपमा काम गर्न आग्रह गर्नुभयो । भारतमा बेमौसमको वर्षाका कारण बालीमा व्यापक रूपमा क्षति पुगेपछि यस प्रकारको आत्महत्या हुनेगरेको छ ।
उहाँले सांसदहरूलाई आफूहरू धेरै दल भए पनि ठूलो मुलुकमा मिलेर काम गर्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले किसानलाई सहयोग गर्ने कुनै पनि सल्लाहलाई आफूले स्वागत गर्ने बताउँदै सरकारले त्यसमा बिचार गर्ने बताउनुभयो ।
प्रधानमन्त्री मोदीले विकास परियोजनाका लागि कृषिभूमि खरिद गर्न सजिलो बनाउने प्रयासको विरोधमा प्रतिपक्षी दलले शृङ्खलाबद्ध प्रदर्शन गरेका छन् र बुधबार भ्रष्टाचारविरोधी आम आदमी पार्टीले आयोजना गरेको सभा पछिल्लो हो ।
बिहीबार राजधानीमा अनेकौँ प्रदर्शन भए भने सिंहको हत्यामा कसलाई दोषी मान्ने भन्ने विषयमा आरोप लगाउने कार्य निकै बढेको छ ।
प्रधानमन्त्री मोदीका विरोधीहरूले उक्त आत्महत्या भूमिसम्बन्धी विधेयकको विरोधमा भएको आरोप लगाएका छन् भने सत्ताधारी भारतीय जनता पार्टीले सिंहको आत्महत्या आम आदमी पार्टीका आयोजकले रोक्नुपर्ने दाबी गरेका छन् ।
गृहमन्त्री राजनाथ सिंहले उक्त घटनालाई उपयोग नगर्न आग्रह गर्दै समाधान खोज्न मिलेर काम गर्न प्रधानमन्त्री मोदीको भनाइमा जोड दिनुभयो ।
उहाँले यो घटना वास्तवमै लज्जा तथा दुर्भाग्यपूर्ण भएको बताउँदै यसमा राजनीति गर्ननहुने बताउनुभयो ।
भारतका ऋणको बोझ बोकेका किसानले बेमौसमको असिनासहितको आँधी तथा वर्षाका कारण उनीहरूको बाली नष्ट गर्दा निकै क्षति ब्यहोरेका छन् । हालका सातामा आमसञ्चारले किसानहरूले आत्महत्या गरेको समाचार दिइरहेका छन् ।
भारतको ग्रामीण क्षेत्रमा प्रधानमन्त्री मोदीको भूमिसुधारसम्बन्धी विधेयकप्रति क्रोध बढेको छ र सरकारले यो विधेयक आर्थिक वृद्धिका लागि आवश्यक भएको दाबी गरेको छ । भारतका राजनीतिक विपक्षीले सरकारले सङ्घर्षरत किसानको खर्चमा व्यापारलाई सहयोग गरेको आरोप लगाएका छन् । रासस/एएफपी















प्रतिक्रिया