२९ आश्विन २०८३, बिहिबार

भारतमा भीषण आँधी, तेत्तीस जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-flagनयाँदिल्ली, ९ वैशाख । भारतको पूर्वी भागमा अवस्थित बिहार राज्यमा गए राती गएको एक शक्तिशाली आँधीका कारण कम्तीमा ३३ व्यक्तिको मृत्यु भएको र तथा बाली तथा सम्पत्ति नष्ट भएको जानकारी अधिकारीहरूले दिएका छन् ।

उक्त आँधीले आर्थिक रूपमा कमजोर यस राज्यका अनेकौँ जिल्लालाई प्रभावित बनाएको तथा त्यहाँको रुख तथा विद्युतका खम्बा उखेलेको अधिकारीहरूले बताए ।

बिहारको विपत्ति व्यवस्थापन विभागका मुख्यसचिव व्यासजीले ३० व्यक्तिको मृत्यु भएको पुष्टि भएको र अन्य ८० घाइते भएको जानकारी दिनुभयो ।

आँधीप्रभावित क्षेत्रमा दूरसञ्चार तथा विद्युतआपूर्ति आवरुद्ध भएको र ढलेका रुखका कारण बाटो अवरुद्ध भएको व्यासजीले बताउनुभयो ।

उहाँले आँधीप्रभावित क्षेत्रमा पुग्न सकिएपछि मात्र त्यहाँ भएका क्षतिको मात्रा थाहा पाउनसकिने बताउनुभयो ।

बिहारका प्रहरी महानिर्देशक पी.के. ठाकुरले उद्धारकर्मी आँधीप्रभावित केही क्षेत्रमा पुग्न प्रयास गरिरहेकाले मर्ने व्यक्तिको सङ्ख्या बढ्नसक्ने आशङ्का व्यक्त गर्नुभयो ।

उहाँले सरकारले धेरै क्षेत्रमा उद्धार कार्य गररहेको बताउनुभयो । उहाँले क्षति व्यापक रहेको र धेरै स्थानमा पुग्ननसकिएको बताउनुभयो ।

उहाँले कूल ३३ व्यक्तिको मृत्यु भएको पुष्टि भएको र आँधीप्रभावित सबै स्थानमा पुग्न नसकिएकाले मर्नेको सङ्ख्या बढ्नसक्ने बताउनुभयो ।

गरिब कामदार बसोबास गर्ने हजारौँ छाप्रो नष्ट भएको र गहुँ, मकै तथा दालका बाली नष्ट भएको प्रेस ट्रस्ट अफ इन्डियाले जानकारी दिएको छ । त्यहाँबाट प्राप्त चित्रहरूमा विद्युतका खम्बा लडिरहेको देखाइएको छ ।

भारतको मौसम विभागले बिहारलाई प्रभावित बनाउँदा उक्त आँधीको गति ६५ किलोमिटर प्रति घण्टा रहेको उक्त समाचार संस्थाले जानकारी दिएको छ ।

भारतको पूर्वी राज्यमा मनसुनअगाडि यस प्रकारका आँधी आउने गर्छन् र त्यसले व्यापक रूपमा जनधनको क्षति गर्ने गर्छ । रासस/एएफपी