पोखरा, ५ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले संविधानका अन्तरवस्तुमा अधिकतम लचक भएर सहमति गर्ने र सहमति हुन नसकेमा दुई तिहाईवाट नयाँ संविधान जारी गर्ने दृढता व्यक्त गर्नुभएको छ ।
नेपाल मुस्लिम इत्तेहाद सङ्गठन गण्डकीको आयोजनामा नयाँ संविधानमा मुस्लिमहरूको अधिकार विषयक गण्डकी अञ्चलस्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले जुनसुकै मूल्य चुकाएर भएपनि दोस्रो संविधानसभाले संविधान बनाउने उल्लेख गर्नु भयो ।
देशमा लामो समयसम्म राजनीतिक अस्थिरता रह्यो भने द्वन्द्व र अराजकता उत्पन्न हुने धारणा राख्दै उहाँले यो पटक पनि सरकारमा रहेका प्रमुख पार्टीहरूले संविधान बनाउन सकेनन भने यी पार्टीहरू इतिहासमै नालायक ठहरिने चेतावनी दिनुभयो ।
कार्यक्रममा एमालेका नेता युवराज ज्ञवाली, गण्डकी अञ्चल इन्चार्ज जगत विश्वकर्मा, केन्द्रीय हज कमिटिका अध्यक्ष शेराज अहमत फारुकी लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस












प्रतिक्रिया