– विजय थापा
वाशिंगटन डिसी, २ वैशाख । चिकित्सा क्षेत्रमा देखिएको वेथितिविरुद्ध सत्याग्रह चलाइरहेका शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी ५० हजार राशिको पुरस्कारबाट सम्मानित भएका छन् ।
हाडजोर्नी विशेषज्ञ प्रा. डा. केसीलाई अमेरिकामा स्थापना भएको ‘इन्टरनेसनल नेप्लिज् ब्लड डोनर्स’ले काठमाडौँमा ५० हजार नगदसहित कदर पत्रले सम्मान गरेको छ ।
इन्टरनेसनल नेप्लिज् ब्लड डोनर्सका तर्फबाट कान्तिपुर दैनिकका पत्रकार अतुल मिश्रले डा केसीलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।
केसीले सम्मानित भएकोमा धन्यवाद व्यक्त गर्दै नगद रकम फिर्ता गरि कुनै परोपकारी कार्यमा लगाउन आग्रह गर्दै मिश्रलाई फिर्ता दिएका छन् ।
अमेरिकाको न्युयोर्कमा लामो समय देखि बस्दै आएका इन्टरनेसनल नेप्लिज् ब्लड डोनर्सका अध्यक्ष अर्जुनप्रसाद मैनालीले डा. केसीले नेपाल र नेपाली जनताको हितका लागी अतुलनीय योगदान पुर्याएकोमा यो सम्मान गरेको बताए । २०७२ नयाँ वर्षको बैशाख १ गतेको शुभ साइतमा नगद तथा कदरपत्र उनले अमेरिकाबाट नेपाल पठाएका थिए ।
मैनालीले रक्तदानलाई नेपाली समुदायमा बिश्व ब्यापी रुपमा प्रचार गर्न पटकपटक आफै भ्रमण गर्ने र हौसला स्वरुप पुरस्कार समेत प्रदान गर्दै आएका छन् । रक्तश्रावबाट पीडित दुर्गम भेगका सुत्केरी, असहाय तथा बिरामीलाई सदैब सहयोग गर्न मैनालीले दुई बर्ष अगाडि बाजुराका चिकित्सक झपेन्द्र पोख्रेल तथा चिकित्सक रौतहटका सुभास चौधरीलाई जनही १० हजार नगद तथा कदर पत्रले सम्मान गरेका थिए ।
दुवै चिकित्सकले रगत उपलब्ध नहुदा आफैले रगत दान गरि बिरामीको जीवन बचाएकोले उक्त सम्मान गरेको मैनालीले बताए ।
यस्तै, गत बर्ष जुलाई २०१४ मा नेपालका सक्रिय रक्तदाता मध्ये ३ जनालाई जनही ५० हजार रुपैया तथा कदर पत्र उपराष्ट्रपतिको हातबाट सम्मान गरेको बताए ।
यसै गरि गत बर्ष कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार अतुल मिश्रलाई पनि स्वास्थ्य तथा रक्तदान सम्बन्धि कलम अविरल रुपमा चलाएकोले उनलाई पनि उपराष्ट्रपतिको हातबाट २५ हजार नगदले सम्मान गरिएको मैनालीले बताए । मैनालीले १ सय ३६ पटक रगतदान गरि सकेका छन् ।













प्रतिक्रिया