बागलुङ, १ बैशाख । कार्यकर्ता रिहाईको माग गर्दै बागलुङमा अनशन बसेका नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपालीको स्वास्थ्य अवस्था नाजुक देखिएको छ ।
नेपालीको स्वास्थ्य परिक्षणमा संलग्न स्वास्थ्यकर्मीले रक्तचाप लगायतको समस्या रहेको तथा ३६ घण्टादेखि खानापानी केही नखाएका कारण स्वास्थ्य अवस्था कमजोर हुँदै गएको जानकारी दिएका छन् ।
स्वास्थ्यकर्मीले पानीसम्म भएपनि खानका लागि सुझाव दिएको नेपालीकी श्रीमती सुजाता नेपालीले जानकारी दिइन् । पानी पनि नखाने हो भने आजै अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
संविधानसभा उपनिर्वाचनका क्रममा पक्राउ परेका आफ्ना पा“च जना कार्यकर्तालाई विनाशर्त रिहा गर्नुपर्ने माग राखेर सोमबार बिहान ६ बजेदेखि नेपाली अनसन बसेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङ अगाडि आमरण अनशन बसेका नेपालीले निर्वाचनका क्रममा आफ्ना कार्यकर्तालाई सुनियोजित रुपमा पक्राउ गरिएको बताउँदै आएका छन् ।
यता प्रहरी नायव उपरिक्षक प्रेम बस्नेतले भने आमरण अनशन बस्दैमा कुनै पनि अपराधीलाई रिहा गर्न नमिल्ने बताएका छन् । राजनीतिक दलहरुबीचको समझदारीमा मात्र नेकपा एमालेका कार्यकर्तालाई रिहाई गर्न सकिने प्रहरी नायब उपरीक्षक बस्नेतको भनाइ छ ।
निर्वाचनको अघिल्लो दिन बागलुङ नगरपालिका वडा नम्बर ८ का रामजी नेपालीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बानपा १ का टकबहादुर बोहरा, कर्ण बोहरा, पप्पु बोहरा, विदुर बोहरा र कर्णबहादुर बोहरालाई बानपा—१ को मतदान केन्द्रबाट नियन्त्रणमा लिएको थियो ।













प्रतिक्रिया