काठमाडौँ, ३० चैत । संविधानसभाको आजको बैठकले प्रजातन्त्र स्थापना तथा पुनः स्थापनाका अथक योद्धा पूर्वमन्त्री एवम् एनेकपा (माओवादी) का सदस्य सलिम मिया अन्सारीको असामयिक निधनमा गहिरो दुःख व्यक्त गर्दै सर्वसम्मतले शोक प्रस्ताव पारित गरेको छ ।
संविधानसभाको आजको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले २०४८ र २०५१ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं. ४ बाट तत्कालीन नेकपा (एमाले)का तर्फबाट निर्वाचित सदस्य अन्सारीको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
दिवङ्गत नेताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सभामा एक मिनेट मौन धारण गरिएको थियो । स्व मियाँका शोकाकुल परिवारजनमा सभाले हार्दिक समवेदना व्यक्त गर्नुका साथै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ ।
संविधानसभाको अर्को बैठक आगामी वैशाख ६ गते आइतबार अपराह्न ३ बजे बस्नेछ । रासस












प्रतिक्रिया