
– रबिना बोहरा
बागलुङ, २८ चैत । बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा भएको उप निर्वाचनमा अहिलेसम्म ३३ हजार मत खसेको र सान्तपुर्वक मतदान भैरहेको जिल्ला निर्वाचन अधिकृत टोलराज उपाध्यायले बताउनुभयो ।
उपनिर्वाचनमा मुख्य प्रतिस्पर्धी तिन राजनीतिक दलका उम्मेदबारले एउटै केन्द्रबाट मतदान गरेका छन् । निर्वाचनमा ७० मतदान केन्द्र रहेका छन् । उपनिर्वाचनमा जिल्लामा पहिलो पटक विद्युतिय मतदान मेसिनको प्रयोग गरिएको छ ।
सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर आफूलाई मन परेको उम्मेदवारलाई विद्युतीय उपकरणको प्रयोग गरी मतदान गर्न जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ ।
जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले मतदानका लागि असक्त, वृद्ध, गर्भवती महिला लगायत मतदाताका लागि छुट्टै व्यवस्था भएको जानकारी दिँदै विद्युतीय उपकरणबाट हुने मतदान गोपनीय हुने र कुन दल वा स्वतन्त्र उम्मेदवारलाई मत दियो भन्ने कुरा गोप्य रहने बताउनुभयो ।
जसको लागि निजामती कर्मचारी ३ सय ५० र स्वयमसेवक ४ सय २० गरी कुल ७ सय ७० जना जनशक्ति परिचालन भएका छन । सुरक्षाको व्यवस्था अवश्यकता अनुसार निर्वाचन सुरक्षा समितिले बन्दोबस्त गरेको छ । उपनिर्वाचनमा मतदाता परिचय पत्र नभइकनै पनि भोट हाल्न पाउने नयाँ व्यवस्था गरेको छ ।
परिचयपत्र नभएको अवस्थामा निजको मतदाता नामावलीमा रहेको नाम र विवरणसँग मेलखाने नेपाली नागरिकताको प्रमाण–पत्र वा जग्गाधनी प्रमाण–पत्र वा सवारी चालक अनुमति–पत्र वा नेपाल सरकार र नेपाल सरकारको स्वामित्वमा रहेका संस्थाबाट जारी गरिएका मतदाताको परिचय खुल्ने तस्विर सहितको अन्य कागजातको आधारमा पनि उपनिर्वाचनमा मतदान गर्न दिने व्यवस्था मिलाएको उपाध्यायले बताउनुभयो ।
२०७० सालको निर्वाचनवाट बिजयी सभासद हरिवहादुर खड्काको सडक दुर्घटना परि मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । बागलुङ क्षेत्र नम्वर १ मा कुल ५२ हजार २ सय २ मतदाता रहेका छन् । उपनिर्वाचनमा कांग्रेसकी चम्पा खड्का, नेकपा एमालेबाट मनकुमारी केसी, र एकीकृत माओवादीबाट कृष्ण केसीले उम्मेद्वारी दिन’भएको छ ।
त्यसैगरि राष्ट्रिय जनमोर्चाका नेत्र बुढाथोकी, राप्रपा नेपाल र राप्रपाका नवीनचन्द्र शरबुजा, संघीय समाजवादीका रेसम थापामगर, नेकपा मालेका कुलबहादुर किसान, परिवार दलका बाबुराम शर्मा लगायत १० दलका र ३ जना स्वतन्त्र गरि १३ जना उमेदवार चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।
यसैबीच तारखोलाको दुर्गा भवानी मावि मतदान केन्द्रमा निस्चीत समय भन्दा ढिला मतदान प्रक्रिया सुरु भएको छ । राजनीतिक दलको सामान्य विवादका कारण ढिला सुरु भएको हो यस्तै अगर्नल गाविसको ख मतदान केन्द्रमा मतदान मेशिनमा खरावि आएको कारण केही वेर ढिला सुरु भएको सहकर्मी वालकृष्ण सुवेदीले जनाएका छन् ।












प्रतिक्रिया