चरिकोट, २८ चैत । दोलखाको उत्तरी क्षेत्रमा पर्ने मार्बु गाविसमा निर्माणाधीन दुई जलविद्युत् आयोजना बुधबारदेखि स्थानीयवासीले विभिन्न माग राख्दै बन्द गरेका छन् ।
मार्बु–७ मा निर्माण भइरहेको ५० मेगावाटको खानीखोला–१ जलविद्युत् आयोजना र सोही स्थानमा पर्ने ३० मेगावाटको खानीखोला दोलखा जलविद्युत् आयोजनामा विभिन्न माग राख्दै आयोजना नजिकका सुरी, चंखु, खारे र मार्बु गाविसका स्थानीयवासीले सङ्घर्ष समिति बनाई आयोजना बन्द गरेका हुन् ।
स्थानीयवासीलाई आयोजनाले १० प्रतिशत सेयर लगानीका ग्यारेन्टी गर्नुपर्ने, प्रभावित क्षेत्रका स्थानीयवासीलाई ५ प्रतिशत निःशुल्क सेयरको व्यवस्था गर्नुपर्ने, आयोजनाको ७० प्रतिशत काम सकिँदासमेत वातावरणीय तथा सामाजिक अध्ययन अनुसारको स्थानीय तहमा गर्नुपर्ने रकम खर्च नगरेको, परियोजनासम्बन्धी नागरिक वडापत्र नराखेको, स्थानीयवासीलाई जग्गाको मुआब्जा र क्षतिपूर्ति हालसम्म पनि नदिएको लगायतका माग स्थानीयवासीको छ ।
आन्दोलन नाजायज रहेको र समाधान सरोकार समितिबाटै हुनुपर्ने खानीखोला–१ जलविद्युत् आयोजनाका प्रबन्धक सुवास बरालको भनाइ छ ।
उनीहरुले आन्दोलनसँगै आयोजनाको निर्माणस्थलसम्म लाने यातायात, आयोजनाका ढुवानी, सुरुङ निर्माणलगायत सम्पूर्ण कार्य अनिश्चित कालसम्मका लागि बन्द गरेका छन् । निर्माणका लागि प्रयोग गरिने विभिन्न सामग्री बोकेको गाडीसमेत आयोजनामा प्रवेश गर्न नदिएको स्थानीय सङ्घर्ष समितिका संयोजक निमा शेर्पाले जानकारी दिनुभएको छ ।
विगत ४ वर्षदेखि ५० मेगावाट क्षमताको खानीखोला–१ आयोजनाको निर्माण ग्रिन लाइफ इनर्जी प्रालि र विगत एक वर्षदेखि ३० मेगावाट क्षमताको खानीखोला दोलखा आयोजनाको निर्माण भने सासा इन्जिनियरिङ कम्पनी प्रालिले गरिरहेको छ । चंखु, मार्बु, खारे र सुरी गाविसमा रहेका जम्मा ५ वटा आयोजनाबाट १२१ मेगावाट क्षमताका आयोजनाहरु निर्माणधीन अवस्थामा रहेका छन् ।















प्रतिक्रिया