१३ कार्तिक २०८३, शुक्रबार

सहमतिका लागि काँग्रेसको निर्णायक प्रयास

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayan-khadka

गाईघाट (उदयपुर), २८ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सहरी विकास मन्त्री डा नारायण खड्काले एमाओवादीसहितका विपक्षी दललाई वार्ताको माध्यमबाट सहमतिमा ल्याएर सहमतिको संविधान बनाउन निर्णायक प्रयास गरिरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन उदयपुर शाखाले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटमा उहाँले पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले सहमतिका निम्ति निर्णायक प्रयास थालेको बताउनुभयो ।

“विपक्षीसँग प्रधानमन्त्रीले गहन छलफल जारी राख्नुभएकाले एकदुई दिनभित्रै निष्कर्ष निस्केर सहमतिबाटैै संविधान बन्नेछ”, मन्त्री खड्काले भन्नुभयो ।

पूर्वका दुई र सुदूरपश्चिमका तीन जिल्लालाई तराई प्रदेशमा राख्ने वा पहाडमा समावेश गर्ने भन्नेमा दलहरूबीच मतैक्य नहुँदा वार्ताको वातावरण बिथोलिएको स्पष्ट गर्दै उहाँले प्रधानमन्त्रीको प्रयासमा जारी वार्ताले सबै समस्या हल गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

सङ्घीयता र निर्वाचन प्रणालीबाहेक संविधानका अन्तवस्तुमा सहमति कायम भइसकेकाले असहमतिका बाँकी विषयमा पनि शीघ्र टुङ्गिने बताउनुभयो ।

आगामी भदौमा हुने नेपाली काँग्रेसको १२औँ महाधिवेशनमा पार्टी सभापतिमा वर्तमान सभापति कोइरालाले नै निरन्तरता पाउनुपर्ने धारणा मन्त्री खड्काले व्यक्त गर्नुभयो । “एक कार्यकालका निम्ति उहाँलाई निरन्तरता दिनुपर्छ,” उहाँले भन्नुभयो । रासस