‘मेड इन नेपाल’ मेला किन ?
उद्योग बाणिज्य महासंघ अन्तर्गतको नेपाली युवा उद्यमी मञ्चले ‘मेड इन नेपाल’ मेला आयोजना गरेको हो । यो मेलाबाट नेपालमै बनेका स्वदेशी बस्तुहरु, घरेलु उत्पादनको प्रदर्शनी गर्न लागेका छौँ । सामान्य घरेलु उत्पादन देखि लिएर नेपालमा उत्पादित ठुल्ठुला उद्योगका बस्तुहरुको प्रदर्शनी गर्न मेलाको आयोजना गरिएको हो ।
हाम्रो मेला नेपालमा बनेका बस्तु तथा सेवाको मात्रै प्रदर्शनी हो, यसमा हामीले साना देखि ठूला उद्योगले नेपालमा उत्पादन गरेका बस्तु, सामाग्रीलाई समेट्न खोजेका छौं । जसअनुसार मेलाले १३० स्टलबाट स्वदेशी उत्पादनका बस्तुहरुको प्रचारप्रसार गर्दैछ ।
नेपालमा पनि बस्तु तथा सेवा छन् । तर, सर्वसाधारण जनताको बुझाई नेपालमा केही छैन् भन्ने छ । सियो पनि बनेको छैन् भन्छन्, त्यो गलत बुझाईलाई तोड्न अनि नेपालमा पनि उद्योग धन्दा छन् । गुणस्तरीय बस्तु उत्पादन हुन्छन् भन्ने सन्देश दिन मेलाको आयोजना गरेका हौं ।
मेलाका विशेषता
मेड इन नेपाल मेला शुक्रबारदेखि (चैत २७–३० सम्म) आइतबारसम्म चल्नेछ । नेपाली युवा उद्यमी मञ्चले सन् २००६ देखि यो मेला आयोजना गर्दै आएको छ । पहिलो र दोस्रो मेला दुई/दुई वर्षमा गरेको थियो । त्यसपछिका मेला वर्षमा एकपटक गर्दै आएको छ ।
शुक्रबारदेखि सुरु हुन लागेको मेला पाँचौ संस्करणको हो । मञ्चले यसअघि चारवटा मेला सफल रुपमा समपन्न गरिसकेको छ । ‘पहिले सामान्य घरेलु उद्योगका उत्पादन मात्रै प्रदर्शन गरिन्थ्यो, अहिले साना तथा घरेलु उद्योगसँगै ठुला उद्योगका बस्तुहरु पनि प्रदर्शनीमा राखेका छौं । जसअनुसार यसपटकको मेलामा शिवम सिमेन्टले मुख्य प्रायोजन गरेको छ । मंगलम पाइप, पञ्चकन्या स्टील, छाला जुत्ता, सेवामा हस्पिटल, होटल, पर्यटन लगायतका साना ठुला उद्योगका बस्तु प्रदर्शनी हुनेछन् ।
शुक्रबारदेखि सुरु हुने मेला विहान ११ बजेदेखि बेलुका ७ बजेसम्म चल्नेछ । मेलामा १ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने हाम्रो अनुमान छ । मेलाको उद्घाटन उद्योगमन्त्री महेश बस्नेत गरेपनि पाँच जना पूर्वप्रधानमन्त्रीहरुः बाबुराम भट्टराई, पष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले मेलाको अवलोकन गर्न आउने बचन दिनुभएको छ । २०१२ को मेलामा महामहिम राष्ट्रपति रामवरण यादवले पनि अवलोकन गर्नुभएको थियो ।
प्रमुख राजनीतिक दलका अध्यक्ष, शिर्ष नेताहरुलाई समेतले मेला अवलोकन गर्ने छन् । यसवर्षको मेलाको मुल नारा ‘हाम्रो पनि राम्रो पनि’ भन्ने रहेको छ । नेपाली बस्तु तथा सेवाको प्रयोग गरौं, नेपाली बस्तु गुणस्तरीय छन्, आयातित बस्तुलाई प्रतिस्थापन गर्न अर्थतन्त्रलाई बोलियो बनाउन मेलाले सहयोग पुग्ने हाम्रो विश्वास छ ।
१० रुपैयाँ कमाइमा नेपालीले ७ रुपैयाँ खर्च गर्छ, ३ रुपैयाँ मात्रै कमाउँछ । यो अवस्थाको अर्थतन्त्र लामो समयसम्म टिक्दैन् । त्यसकारण स्वदेशी बस्तुको प्रयोग बढाउनुपर्छ, आयातित वस्तुलाई प्रतिस्थापन गर्नुपर्छ । जस्तो, नेपाली सेना, प्रहरीमा सबैले नेपाली उत्पादनको जुत्ता लगाए देशको आधा अर्थतन्त्र धान्छ । हरेक सरकारी कार्यालयमा नेपाली कागजको प्रयोग, ढाकाको टाई, नेपाली पहिरन, खादा, कार्यालयका फर्निचर सबै क्षेत्रमा स्वदेशी उत्पादन प्रयोग भए आयातित बस्तुको प्रतिस्थापन हुन्छ जसले अर्थतन्त्र बोलियो बनाउँछ । स्वदेशी बस्तुको प्रदर्शनीले नेपाली उद्योगलाई प्रोत्साहन मिल्ने, उद्योग प्रवद्र्धन गर्न वातावरण सिर्जना हुने, देशको अर्थतन्त्रलाई बोलियो बनाउने, आयात प्रतिस्थापनलाई सहयोग गर्नेछ । त्यसकारण सबै सर्वसाधारण नेपाली विशिष्ट नेपाली व्यक्तित्वहरुलाई मेला अवलोकन गर्न हामीले आग्रह गरेका छौँ ।
विश्वमा पुग्ने योजना
‘मेड इन नेपाल’ले वर्षमा एकचोटी मेला मात्रै गर्ने होइन्, स्वदेशी बस्तु प्रवद्र्धनका लागि नेपाली युवा मञ्चको अभियानै हो, त्यही अभियान अन्तर्गत मेला आयोजना गर्दै आएका छौं । यो अभियानलाई नेपालसँगै विदेशमा पनि प्रवर्धन गरिँदैछ । यसबर्ष मलेसिया र कतारमा अभियान अन्तर्गत स्वदेशी बस्तुको प्रवद्र्धन गर्न मेला आयोजना गरिँदैछ ।
मलेसिया र कतारमा जहाँ–जहाँ नेपाली छन्, त्यो ठाउँमा नेपाली उत्पादनका बस्तुहरु प्रचारप्रसार गर्ने र नेपालीहरु जमघट हुने ठाउँमा मेला आयोजना गर्ने तयारी गरिरहेका छौं, सम्भवतः यही वर्षभित्रै दुबै देशमा मेला आयोजना गर्छौँ ।
स्वदेशी बस्तुको प्रवर्धन तथा प्रयोगले राष्ट्रियता समेत झल्काउँछ । अर्थतन्त्र त्यतिखेर बोलियो हुन्छ, जतिबेला स्वदेशी उत्पादनको प्रयोग हुन्छ । तसर्थ देशको माया गर्छौँ भने हामी सकभर नेपालमै बनेको सामान प्रयोग गरौँ । नेपालमा उत्पादित सामान पनि गुणस्तरीय र तुलनात्मक रुपमा सस्ता पनि छन् ।
मेलाको संयोजकको पनि नाताले म सबै नेपाली दाजुभाई दिदीबहिनीलाई यो मेला अवलोकनका लागि अनुरोध गर्न चाहन्छु । यहाँहरुको भावनालाई सम्मान गरेर हामीले निःशुल्क प्रवेशको समेत व्यवस्था मिलाएका छौँ । (दैनिक नेपालसँग कुराकानीमा आधारित)
व्यवसायी बस्नेत मेड इन नेपाल मेलाका संयोजक तथा नेपाल युवा उद्यमी मञ्चका सदस्य हुन् ।
















प्रतिक्रिया