३० आश्विन २०८३, शुक्रबार

बागलुङको उपनिर्वाचनमा कस्ले जित्ला ? यस्तो छ रोमाञ्चक प्रतिस्पर्धा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Congress-Mao

– रुद्र मल्लाजी

बागलुङ, २५ चैत । धौलागिरि अञ्चलको समेत सदरमुकामका रुपमा रहेको बागलुङ बजार र त्यही बागलुङ बजार समेत रहेको बागलुङ क्षेत्र नम्बर १ मा चैत २८ गते संविधानसभा उपनिर्वाचन हुँदैछ । यो निर्वाचन क्षेत्र धौलागिरि अञ्चलकै अति महत्वपूर्ण र प्रभाव पार्न सक्ने क्षेत्रका रुपमा रहेको छ । यो क्षेत्रबाट धौलागिािर अञ्चलका ७ वटै निर्वाचन क्षेत्रमा प्रभाव पार्न सकिने राजनीतिकर्मीहरु बताउछँन् ।

रोमाञ्चक विगत : कहिले काँग्रेस, कहिले एमाले

२०४६ सालको परिवर्तनपछि यो क्षेत्रमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको थियो । एमालेका उमेदवार गोविन्द अधिकारीलाई करिव ३ हजार मतान्तरले पराजित गरी काँग्रेसका गोविन्द कंडेल विजयी हुनु भएको थियो ।

बहुमतको सरकार बनाएको नेपाली काँग्रेसले सरकार सञ्चालन गर्न नसकेपछि २०५१ सालमा उसैको नेतृत्वमा रहेको सरकारले गराएको मध्यावधि निर्वाचनमा एमालेले काँग्रेसलाई पराजित गरेको थियो । काँग्रेसका गोविन्द कंडेललाई एमालेका गोविन्द अधिकारीले ३ हजार भन्दा बढी मतान्तरले पराजित गर्नु भएको थियो ।

२०५१ सालमा एमालेको अल्पमतकै भएपनि एकलौटी सरकारले ल्याएको आफ्नो गाउँ आफै बनाऔं अन्तर्गत प्रत्येक गाविसलाई ३ लाख बजेट विनियोजन, एकल महिला, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरुलाई सामाजिक सुरक्षा भत्ता दिन थालेपछि एमालेको पक्षमा ह्वात्तै जनसमर्थन बढेको थियो ।

जसका कारण २०४९ सालको स्थानीय निकायको निर्वाचनमा बागलुङ जिल्लामा ५ वटा गाविसमा मात्रै जितेको एमालेले २०५४ सालको निर्वाचनमा २ दर्जन भन्दा बढी गाविसमा वर्चस्व बनाउन सफल भएको थियो । त्यतिमात्रै होइन जिल्ला विकास समितिको उपसभापति र उल्लेख्य सदस्यहरुसहित जिल्ला विकास समितिमा प्रतिनिधित्व गरेको थियो ।

२०५४ सालमै पार्टी विभाजन भएपछि त्यसको असर एमालेलाई धेरै नै पर्न गयो । यद्यपी संगठन विस्तारमा एमालेले निकै जोड दियो । फलतः २०५६ सालको आम निर्वाचनमा पार्टी फुटेकै अवस्थामा पनि एमालेका उम्मेदवार रामजीप्रसाद शर्मा जम्मा ४२ मत कम भएर निर्वाचनमा पराजित हुनु भयो । नेपाली कांग्रेसका टंकप्रसाद शर्मा कंडेल विजयी हुनु भएको थियो । त्यसपछि लामो समय निर्वाचन भएन । नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्व बढ्दै गएर दलहरु संगठन विस्तारमा लाग्न सकेनन् । तर पनि एमाले निरन्तर संगठन विस्तार अभियानमा लागि रह्यो । २०५९ साल असोज १८ को शाही कदम होस् वा २०६१ माघ १९ को शाही ‘कू’ किन नहोस् एमालेले बागलुङका नेता कार्यकर्ता र समर्थक सुभेच्छुकहरु प्रतिगमनका विरुद्ध एकतावद्ध भएर लागे । केन्द्रले प्रतिगमन आधा सच्चियो भन्दा पनि जिल्लाका नेताहरु प्रतिगमन विरोधी आन्दोलनमा लागि रहे ।

१९ दिने जनआन्दोलनमा पनि एमाले समर्थकहरुको सक्रियता उल्लेख्य रह्यो । जसका कारण जनआन्दोलनपछि भएको २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेले विजय प्राप्त गर्‍यो । एमालेका तर्फबाट उमेदवार बन्नु भएका रामजीप्रसाद शर्माले २ हजार भन्दा बढी मतान्तरले विजय प्राप्त गर्नु भयो । शर्माको निकटतम प्रतिद्वन्द्वीका रुपमा नेकपा माओवादीका चन्द्रबहादुर बुढा सागर आउनुभयो, जिल्लाको प्रमुख पार्टी कांग्रेसका उमेदवार हरिप्रसाद श्रेष्ठ तेस्रो स्थानमा पुग्नु भयो ।

२०७० मा एमालेले हार्नुका कारण 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेको स्थायी समितिले नै निर्वाचन हार्ने वातावरण सिर्जना गरिदियो । अघिल्लो दिन एक जनालाई उम्मेदवार बनाएर भोलिपल्ट अर्कैलाई उमेदवार बनाउने अवस्थाबाट शुरु भएको अन्यौल र असमञ्जस्यताले नेकपा एमालेलाई एकतावद्ध भएर निर्वाचनमा होमिने वातावरण सिर्जना भएन । आपसी अन्तरकलहमा विपक्षीले राम्रोसँग चलखेल गर्ने अवसर पाए । सुरुमा एउटा समूह निष्क्रिय हुने अवस्था सिर्जना भयो । बिस्तारै पार्टी परिचालन भएपनि सुरुको शुन्यताले अन्तसम्म साथ दिइरह्यो । जसका कारण थोरै मतले एमालेका उमेदवार हिराबहादुर केसी नेपाली कांग्रेसका हरिबहादुर खड्कासँग पराजित हुनुपर्‍यो । निर्वाचनकै मुखमा एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य समेत रहेका लोकप्रिय नेता ऋषिराम शर्मा माओवादी प्रवेश गर्नुभयो । यस्ता धेरै कारणले संगठन राम्रो हुदा हुदै पनि एमालेले हार्न पुग्यो । र, काँग्रेसले क्षेत्र नम्बर १ मा विजयको झण्डा फहरायो ।

यसपटक एमालेको पालो हो त ? 

यस क्षेत्रमा पालैपालो काँग्रेस र एमालेले जितिरहेका छन् । स्थानीयहरुको विश्लेषण छ, अघिल्लोपटक काँग्रेसले जितेका कारण यसपटक एमालेले जित्नेछ ।

राजनीतिमा सबैभन्दा प्रमुख चिज विचार हो, विचार भएन भने राजनीति बरालिन्छ, मदन भण्डारीले २०४७ सालमा २७ बुदे असहमतिका बुँदा राख्दै २०४७ को संविधानलाई आलोचनात्मक समर्थन गरेका कुरा २०६२/०६३ का एजेण्डा बने । भण्डारीले प्रतिपादन गरेको बहुदलिय जनवाद नै एमालेको मार्गदर्शक सिद्धान्त हो । यो सिद्धान्तले जनताका बीचको प्रतिस्पर्धालाई आत्मसाथ गर्दछ । समाज रुपान्तरणका लागि समाजको विशिष्ठ पहिचान चाहे त्यो आर्थिक, सामाजिक वा सांस्कृतिक जुनसुकै होस् स्थानीय विशिष्ठताका आधारमा गरिनु पर्दछ भन्ने मान्यता राख्दछ । त्यही जीवन बुटीरुपी सिद्धान्तका आधारमा एमाले यतिबेला राजनीतिको केन्द्र विन्दूमा छ । सिद्धान्तका हिसाव, वैचारिक हिसाव र केन्द्रीय तहमा दोस्रो ठूलो दलका हैसियतले पनि एमाले यतिबेला सबैको आशाको केन्द्रका रुपमा स्थापित छ ।

संविधानसभाको दोस्रो निर्वाचन भएको डेढ वर्ष भइसक्दा पनि संविधान बन्न सकिरहेको छैन । संविधानका लागि मुख्य चार विषयमा दलहरुबीच विमति छ । ति मध्ये पनि संघीयताको विषयमा दलहरुबीच चर्का दाउपेच छ, माओवादी र मधेशवादी दल पहाड र मधेस छुट्टयाउनुपर्छ भन्ने मान्यतामा छन्, जातीय राज्य बनाउनुपर्छ भन्नेमा छन् तर एमाले मधेस पहाड छुट्ट्याउने, जातीय संघीयता बनाउने कुराको विपक्षमा छ, यसर्थ आज आमजनताको आशाको केन्द्र एमाले बनेको स्थानीयको बुझाइ छ ।

केन्द्रस्तरमा एमाले जति जनताको आकर्षणको केन्द्रभागमा छ, त्यति नै जिल्ला तहमा पनि सदैव केन्द्र भागमै रहेको छ । अझै क्षेत्र नम्बर १ को हकमा भन्दा एमालेको जस्तो सांगठानिक आधार अन्य दलको छैन । क्षेत्र नं. १ का १९ वटै गाविस र १ सय ७१ वटै वडा तथा बागलुङ नगरपालिकाका ११ वटै वडामा पार्टीको संगठन रहेका छन् । विगतमा बागलुङ नगरपालिका सहित बढी भोट हुने १ दर्जन गाविसमा विजय प्राप्त गरेको एमालेले विकास निर्माण लगायत विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ ।

सांगठनिक रुपमा जसरी बलियो बन्दै गएको छ, त्यसैगरी एमालेले अन्य सामाजिक क्रियाकलापहरुमा समेत आफ्ना नेता कार्यकर्तालाई नेतृत्वमा पुर्‍याएको छ । राजनीति अब पूर्णकालिन भएर होइन व्यावसायिक बन्दै अगाडि बढ्नु पर्छ भन्ने पार्टीको निर्देशनका आधारमा धेरै कार्यकर्ता व्यावसायिक र कर्मशिल रहदै आएका छन् ।

को उम्मेद्वार बलियो ? 

मना केसी : नेकपा एमालेलाई सिद्धान्त, राष्ट्रिय राजनीतिमा खेलेको भूमिका, स्थानीय तहमा रहेको सांगठानिक संरचना, पार्टीका सबै नेता कार्यकर्ता चुनावी अभियानमा एकतावद्ध भएर होमिएको कुराले मात्रै होइन उमेदवारका हिसावले पनि निर्वाचनमा जीत हासिल गर्न सहज बनेको छ । एमालेले विगत ३१ वर्षदेखि राजनीतिमा क्रियाशिल युवा महिला नेतृलाई उमेदवार बनाएको छ ।

एमालेको मात्रै होइन्, आम जनतामा परिचित अनुहारलाई उम्मेदवार बनाउने विषयले पनि एमालेप्रति जनताको आकर्षण बढेको छ । मना केसी राजनीतिमा साना साना खुड्किला पार गर्दै पार्टीको केन्द्रीय सदस्य बनि सक्नु भएको छ । सामाजिक आन्दोलनमा महिला मुक्तिदेखि रेडक्रस, सहकारीदेखि लायन्ससम्म उहाँले नेतृत्व गरेर धेरै ठाउँमा आफ्नो कार्य क्षमता प्रदर्शन गर्नु भएको छ । शिक्षण पेशामा लागेर ज्ञान दिनुका साथै दु्ःखी गरिबका लागि अभियान सञ्चालन गरेर, पीडामा परेका महिला लगायत पीडितहरुलाई उद्धार, संरक्षण र व्यवस्थानका लागि सक्रिय रहेर उहाँले गरेको योगदान यतिबेला जनताले स्मरण गरिरहेका छन् ।

बागलुङ क्षेत्र नम्बर १ का सम्पूर्ण शिक्षकहरुले मना केसीलाई संविधानसभामा आफ्नो प्रतिनिधिका रुपमा पठाउने अवसर पाएका छन्, रेडक्रसकर्मी, सहकारीकर्मी, लायन्समा आबद्ध लगायत पीडामा परेका महिलाहरुले यतिबेला आफ्नो सच्चा प्रतिनिधिलाई संविधानसभामा पठाउने अवसर पाएका छन् । यो अवसरलाई उम्कन दिदैनौ भनेर धेरैले भनेको र प्रतिबद्धता जनाएको अवस्था छ ।

चम्पादेवी खड्का : दिवंगत सभासद हरिबहादुर खड्काकी पत्नी हुन् चम्पादेवी खड्का । घर चलाउन अभ्यस्त भएपनि राजनीति भने उहाँका लागि नौलो विषय हो । यसअघि उहाँका पति हरिबहादुर खड्का बागलुङ बजारका चर्चित व्यक्तित्व भएका कारण स्थानीय व्यापारीहरुको समेत सहानुभुति थियो । कार्यकर्ता र जनताका माझमा उहाँ बिल्कुलै नयाँ हुनुहुन्छ । तसर्थ यो स्थानीय चुनाव नभई संविधानसभा र यस क्षेत्रका बासिन्दाका जनप्रतिनिधि समेत बन्नुपर्ने भएकाले चम्पादेवीलाई अप्ठेरो पर्ने देखिएको छ । यद्यपि उहाँ चुनावमा राम्रैरुपमा खट्नु भएको छ । अधिकांश ठाउँमा उहाँले भावुक हुँदै भोट माग्दै आउनुभएको छ, त्यसले गर्दा केही सहानुभूति मत पाउने देखिएको छ । तर, तटस्थ रहेका मतहरु पाउन भने उहाँले निकै मेहनत गर्नुपर्ने देखिएको छ । कारण- सहानुभूतिले जित्नु र जनताको सच्चा प्रतिनिधि बन्नु फरक कुरा हुन् । यसपटक चम्पादेवीले जिते अर्कोपटकदेखि उहाँ उम्मेदवार् नहुने भएकाले आफूहरुको पालो आउने भन्दै काँग्रेसका जिल्ला नेताहरु भने एकजुटझैँ देखिएका छन् । जिते पनि या हारे पनि उहाँका लागि यो अन्तिम चुनाव भएको स्थानीयको बुझाइ छ ।

अझ विपक्षीहरुले दिवंगत सभासद् हरिबहादुर खड्काको सम्मान नै गर्ने हो भने उहाँको नाममा पुस्तकालय, प्रतिष्ठान आदि खोलेर सम्मान गर्न सकिने तर जनप्रतिनिधि बनाउने बेलामा भावनामा बगेर चम्पादेवीलाई मत नदिन विपक्षीहरुले जनता सामु आग्रह गरिरहेका छन्, यसले पनि पम्फादेवीलाई अप्ठेरो पार्ने देखिएको छ ।

कृष्ण केसी: बागलुङमा दुई जना कृष्ण केसी छन्, एकजना एमाओवादीका युवा नेता अर्को विदेशमा बस्ने । विद्यार्थी नेता कृष्णले अघिल्लोपटक चुनाव हार्नुभएको थियो, यसपटक उहाँको सटट जापानमा बस्ने कृष्ण केसी उम्मेदवार हुनुहुन्छ । पछिल्लो आमहड्ताल र संविधानसभामा देखाएका कारण एमाओवादीप्रति चर्को आक्रोश रहेका कारण कुशल उम्मेदवार हुँदाहुँदै पनि कृष्ण केसीलाई जित्न मुस्किल पर्ने देखिएको छ । अर्कोतर्फ उहाँ कार्यकर्ता र जनताका बीचमा नयाँ पनि हुनुहुन्छ, स्थानीय समुदायमा नभिजेका कारण योबीचमा उहाँले गर्ने मेहनतले नै परिस्थिति निर्धारण गर्ने बताइन्छ ।