३० आश्विन २०८३, शुक्रबार

पत्रकार सचिनका हत्याराले रक्सीको सुरमा पोल खोले, तीन जना पक्राउ, घटना रहस्यमय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sachin-Bhattarai-dainiknepal

– कमलराज भट्ट

काठमाडौँ, २४ चैत । उदयपुरका पत्रकार सचिन भट्टराई (राम) को हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रक्सीको सुरमा पोल खोलेपछि हत्याराहरु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्माका अनुसार, घटनामा संलग्न सृष्टि मेमोरियल ट्रष्ट धरानको को१च ६३८९ नम्बरको एम्बुलेन्स ड्राइभर जीवन विसंखे, एम्बुलेन्स धनी निको मेडिकल हल धरानका सञ्चालक मनकुमार राई र धरानकै प्रेम राईलाई पक्राउ गरिएको हो ।

उनका अनुसार, धरानस्थित बीपी प्रतिष्ठान धरान नजिकैको होटलमा रक्सी खाइरहेका विसंखे र प्रेम राईले ‘हामीले मार्‍यौ, अरुलाई समातेर दुःख दिइरहेको छ, यस्तो प्रहरीको के काम ?’ भन्दै प्रहरीको ब्यंग्य गरेका थिए ।

उनीहरुले रक्सीको सुरमा पोल खोलेपछि होटलको अर्को टेबलमा रहेका ग्राहकले डीएसपी शर्माको मोबाइलमा एसएमएसमार्फत खबर गरेका थिए । त्यस लगत्तै खटिएको प्रहरीले सोमबार पक्राउ गरी उनीहरुमाथि अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न धरानकै मणिविक्रम तामाङ फरार रहेका छन् । तर, उनी पनि छिट्टै पक्राउ गर्ने डीएसपी शर्माले बताए । प्रहरीले यसअघि घटनामा संलग्न रहेको आशंकामा पत्रकार भट्टराईका भान्जा राजेन्द्रसहित १२ जनालाई पक्राउ गरेको थियो ।

उदयपुरका पत्रकार भट्टराई चैत ११ गते राति इटहरी वडा नम्बर २६ को आँपगाछीमा मृत भेटिएका थिए । उनको टाउकोमा गहिरो चोट लागेको भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सांग्रिला होटलबाट आपँगाँछीसम्म सिटी सफारी रिक्साबाट घुम्न गएको खुलेको छ । घटनास्थलमा भेटेको भन्दै घटनाको भोलिपल्टै एक जना तेस्रो लिंगीले सचिनको मोबाइल प्रहरीलाई दिएकी थिइन् ।

प्रेस चौतारी उदयपुरका अध्यक्ष भरत खडकाले हत्याका अभियुक्त पक्राउ परेपनि घटना अझै पनि रहस्यमय रहेको बताए । उनलाई कहाँ, कसरी हत्या गरियो भन्ने बारे अझै खुल्न नसकेको खड्काको भनाइ छ ।

उदयपुर सदरमुकाममा बसेर पत्रकारिता गर्दै आएका सचिन व्यक्तिगत कामका लागि इटहरी आएका थिए । इटहरीबाट धनुकटा घुमेर फर्किएका उनी सांग्रिला होटलमा भान्जा राजेन्द्रसँगै बसेको प्रहरी अनुसन्धानमा देखिएको छ । चैत ११ राति ७ बजेतिर एकाएक हराएका सचिनको शव सोही दिन राति ११ बजेतिर धरान इटहरी सडक खण्डमा वेवारिसे अवस्थामा भेटिएका थियो । शव भेटिएको चार दिनपछि मात्रै आफन्तले सचिनको पहिचान गरेको थियो ।