मोरङ, १८ चैत । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जनतालाई दुःख दिने गरी आमहड्ताल गर्न नहुने बताउनुभएको छ ।
आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष गच्छदारले सत्तारुढ र विपक्षी मोर्चाको हठले देशलाई मुठभेडमा लानसक्ने भएकाले आमहडताल गरेर जनतालाई दुःख दिनुभन्दा वार्ताबाट समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले संविधानसभा छाडेर सडकमा जाँदैमा उपलब्धि हात नलाग्ने भएकाले विपक्षी मोर्चाले संविधानसभा छाड्न नहुने बताउनुभयो ।
संविधानसभाबाटै संविधान बनाउनुपर्छ र देशमा जारी गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिँदै नेता गच्छदारले आफूहरुलाई नेपाली जनताले संविधान निर्माण गर्न चुनेर संविधानसभामा पठाएकाले संविधानसभा छाड्नु भनेको जनताको मतलाई अपमान गर्नु हो भन्नुभयो ।
उहाँले संविधानसभा छाड्दैमा राजनीतिक गतिरोध अन्त्य नहुने उल्लेख गर्दै संविधानसभा असफल भए सबै राजनीतिक दल असफल हुने बताउनुभयो ।














प्रतिक्रिया