काठमाडौं, १५ चैत । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत २०१५ को उपाधि आयोजक राष्ट्र अष्ट्रेलियाले जितेको छ । घरेलु मैदानमा न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले पाँचौ पटक उपाधि जितेको हो ।
फाइनल खेलमा न्यूजिल्याण्डले दिएको १८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३.१ओभर खेल्दै ३ विकेट गुमाएर भेट्टायो ।
यसअघि अष्ट्रेलियाको घरेलु मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४५ ओभर खेल्दै सबै विकेट गुमाएर १८३ रनमा समेटिएको थियो ।
ओपनर एरोन फिन्च शुन्यमा नै आउट भएपछि अष्ट्रेलियालाई सुरुवाती व्याटिङमा झट्का लागेको थियो ।
तर, दोस्रो विकेटका लागि डेभिड वार्नर र स्टिभ स्मिथले ६१ रनको साझेदारी गरेर स्कोरलाई गति दिए । दोस्रो विकेटका रुपमा आउट भएका वार्नरले ४६ बलमा ४५ रन बनाए ।
माइकल क्लार्कले तेस्रो विकेटका लागि स्मिथसँग ११२ रनको साझेदारी गरे । क्लार्क ७४ रनमा आउट भए । स्मिथ ५६ र बाट्सन २ रनमा अविजित रहे ।

यसअघि न्युजिल्यान्डले पहिलो ओभरमै कप्तान ब्रेन्डन म्याकलमलाई शून्यमै गुमाएपछि खराब व्याटिङको सुरुवात गरेको थियो ।
न्यूजिल्याण्डका भरपर्दा ब्याट्सम्यान मार्टिन गुप्टिल १५ रनमै बोल्ड आउट भए । थप ६ रन जोड्दा केन विलियम्सन १८ रनमा आउट भएपछि न्यूजिल्याण्ड दबावमा आयो ।
उक्त दबाबलाई ग्राण्ट इलियट र रोस टेलरले शतकीय साझेदारी गर्दै न्यूजिल्याण्डको स्कोर रफ्तारमा लगे । इलियटसाग १११ रनको साझेदारी गरेका टेलर व्यक्तिगत ४० रनमा आउट भए । चौथो विकेट गुमाउँदा न्युजिल्याण्डको विकेट आउट हुने क्रम तीव्र भयो ।
कोरी एण्डरसन शुन्यमै बोल्ड भए । लुक रोन्चीले पनि खाता खोल्न सकेनन् । ड्यानअल भिट्टारीले ९ रन मात्र जोडे । आठौं विकेटका रुपमा इलियट व्यक्तिगत ८३ रनमा आउट भए । माट हेनरी शुन्य र टीम साउदी ११ रनमा नै पभेलियन फर्किए ।
चारपल्टको विश्वकप विजेता अस्ट्रेलियाको आक्रमक बलिङसामु न्युजिल्यान्डले खुलेर ब्याटिङ गर्न सकेन । अष्ट्रेलियाका फल्कनर र मिचेल जोनसनले ३/३ विकेट लिए भने मिचेल स्टार्कले २ र म्याक्सवेलले एक विकेट लिए ।
















प्रतिक्रिया