– यमबहादुर बम
धनगढी, ९ चैत । धनगढी जेसिजको आयोजनामा यहाँ आगामी वैशाख १ गते हाप म्याराथुन हुने भएको छ ।
‘अव धनगढी दौडिन्छ’ नाम दिइएको सो म्याराथुन शान्ति संविधान र सुदूरपश्चिमको विकासका लागि आयोजना गरिन लागिएको धनगढी जेसिजका अध्यक्ष पद्मविक्रम सिंहले जानकारी दिए ।
शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले दोस्रो पटक आयोजना हुन लागेको हाप म्याराथुनमा नेपाल तथा भारतका गरी एक हजार बढी धावकहरुको सहभागिता हुने बताए ।
पाँच वटा विधामा आयोजना हुन लागेको म्याराथुन प्रतियोगिता आयोजना गर्न करिव आठ लाख रकम खर्च हुने प्रतियोगिताका संयोजक लोकबहादुर भट्टले जानकारी दिए । उनका अनुसार गत वर्ष चार लाख रकम खर्च भएको थियो ।
प्रतियोगिताका लागि विभिन्न छ वटा उपसमिति गठन भइसकेको जानकारी दिँदै संयोजक भट्टले प्रतियोगितको तयारी भइरहेको बताए ।
जेसिजका महासचिव प्रकाश चन्दले गत वर्ष एक विधाका लागि म्याराथुन आयोजना गरिएकोमा यस वर्ष ५ वटा विधा रहेको र पुरस्कार राशी पनि बढाइएको बताए ।
उनका अनुसार खुला हाप म्याराथुनमा प्रथमलाई ५१ हजार, द्वितियलाई ३१ हजार र तृतियलाई १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
यसैगरी, महिला, ४५ वर्षभन्दा माथि, ह्वलचियर प्रयोग गर्ने तथा १२ देखि १७ वर्ष उमेरका विद्यार्थी तीन विधा प्रथम, द्वितिय र तृतियलाई क्रमशः ११ हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने उनले बताए ।
धनगढीको क्षेत्रीय रंगशालादेखि शुरु हुने हाप म्याराथुन गेटा पुगेर पुनः क्षेत्रीय रंगशाला २१ किलोमिटरमा समापन हुने जनाइएको छ ।
दौडमा दक्षिण एसियाली खेलमा लगातार चार पटक स्वर्ण जित्न सफल खेलाडी बैकुण्ठ मानन्धर, अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी दीपक विष्ट, नायक विराज भट्ट, नायिका ऋचा शर्माको पनि सहभागिता रहने महासचिव चन्दले बताए ।















प्रतिक्रिया