काठमाडौँ, ८ चैत । कायममुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. चिरञ्जीवी नेपाललाई सर्वोच्च अदालतमा आज आयोजित एक समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
सो अवसरमा अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा र सर्वोच्च अदालतका न्यायाधीशहरुको उपस्थिति थियो ।
मन्त्रिपरिषद्को बैठकले नेपाललाई गर्भनरमा नियुक्त गरेको थियो । नेपाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार पनि हुन् ।
नेपाल प्रधानमन्त्रीको ‘पावर’मा गर्भनरमा नियुक्त भएका थिए ।
पद तथा गोपनियताको सपथ लिँदै नव नियुक्त गर्भनर नेपालले वित्तीय क्षेत्रलाई उदाहरणीय बनाउँदै आर्थिक उपलब्धि परिणाममुखी बनाउने प्रतिबद्धता जनाउनुभयो ।
पद तथा गोपनियताको सपथ लिईसकेपछि नेपालले केन्द्रीय बैंकमा पुगेर आज अपराह्न पदबहाली गर्नुभयो ।
पद बहालीपछि उहाँले समस्याग्रस्त घोषित क्रिस्टल फाइनान्सका निक्षेपकर्ताहरुलाई उनीहरुको रकम क्रमशः फिर्ता गर्दै जाने निर्णयलाई सदर गर्नुभयो । त्यसपछि सञ्चारकर्मीहरुको जिज्ञासामा मुलुकको वित्तीय स्थायित्वलाई आफूले पूर्ण प्रतिबद्धता र प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो ।
त्यसअघि, गभर्नर नेपाललाई डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीका साथै नेपाल राष्ट्र बैंकका सम्पूर्ण कर्मचारीले स्वागत गर्नुभएको थियो ।














प्रतिक्रिया