२९ आश्विन २०८३, बिहिबार

एएफसी च्याम्पियनसिप छनोट खेल्न नेपाली यू–२३ टोली इरान जाँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballकाठमाडौँ, ६ चैत । तेइस वर्षमूनि (यू–२३) को नेपाली राष्ट्रिय फुटबल टोली इरानमा हुने एएफसी च्याम्पियनसिप छनोट खेल्न आज राति ११ बजे त्यसतर्फ प्रस्थान गर्दैछ ।

इरान जानेमा २३ खेलाडी र प्रशिक्षकलगायत ३१ सदस्य छन् । यसमा टोलीको गोलरक्षकमा एलान न्यौपाने, विकेश कुथू र अमृतकुमार चौधरी छन् भने रक्षकमा दिनेश राजवंशी, कालु थापा राम्जाली, मनबहादुर तामाङ, आदित्य चौधरी, आकाश थापा तथा अनन्त तामाङ छन् ।

गौरव बुढाथोकी, हेमन गुरुङ, हेमन्त थापा मगर, कप्तान जगजीत श्रेष्ठ, जङ्बु पेम्बा शेर्पा, कमल श्रेष्ठ, प्रकाश बुढाथोकी, सुलभ मास्के र विशाल राई मध्यपङ्क्तिमा तथा अग्रपङ्क्तिमा विश्वास श्रेष्ठ, रन्जन विष्ट, अन्जन विष्ट, अमर डंगोल र विमल घर्ती मगर छन् ।

त्यस्तै टोलीका मुख्य प्रशिक्षकमा ज्याक स्टेफानोस्की, सहायक प्रशिक्षकमा बालगोपाल महर्जन तथा व्यवस्थापकमा रमेश न्यौपाने छन् ।

यही चैत ९ देखि १७ गतेसम्म इरानको राजधानी तेहरानमा हुने प्रतियोगिताको समूह ‘सी’अन्तर्गत नेपाललगायत आयोजक इरान, साविक उपविजेता साउदी अरेबिया, अफगानिस्तान र प्यालेस्टाइन छन् । राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको विजेताले एएफसीको फाइनल राउण्ड सोझै खेल्न पाउँने छ भने उत्कृष्ट उपविजेता भएकालाई पनि अवसर हुनेछ ।

नेपालका लागि साउदी अरेविया र इरान बलिया प्रतिद्वन्द्वी हुन् भने अफगानिस्तान र प्यालेस्टाइनलाई समान हैसियतका मानिन्छ ।
मुख्य प्रशिक्षक स्टेफानोस्कीले टोलीका अधिकांश खेलाडीले सिनियर फुटबलको पनि अनुभव हासिल गरिसकेका हुनाले राम्रो नतिजा निस्कनेतर्फ सङ्केत गर्दै भन्नुभयो, “राम्रो तयारी छ त्यसैले, ‘सरप्राइज’ नतिजा पनि आउन सक्छ ।”

यसैबीच, इरान जाने टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज यहाँ आयोजित कार्यक्रममा बिदाइ गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामा तथा एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले टोलीका प्रशिक्षक र कप्तानलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दैै बिदाइ गर्नुभयो । रासस