काठमाडौं, ४ चैत । मुलुकमा तीन हजार २०० वैदेशिक लगानीका परियोजना सञ्चालनमा रहेका र तिनमा रु एक खर्ब ६० अर्बको लगानी भएको पाइएको छ ।
सरकारले उदार वैदेशिक लगानी नीति र एकद्वार प्रणाली अवलम्बन गरेकाले विदेशी लगानीमा बढोत्तरी भएको हो ।
विदेशी लगानीकर्ताहरूसँग उद्योग विभागले आज राजधानीमा आयोजना गरेको छलफल कार्यक्रमको उद्घाटन गर्दै उद्योग मन्त्री महेश बस्नेतले वैदेशिक लगानी आकर्षित गर्न सरकारले पुरानो वैदेशिक लगानी नीतिलाई प्रतिस्थापन गर्दै नयाँ नीति जारी गरेको बताउनुभयो ।
वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन पनि नयाँ वैदेशिक लगानी नीतिअनुरुप परिमार्जन गर्ने तयारीमा सरकार रहेको जानकारी दिँदै मन्त्री बस्नेतले औद्योगिक विकासलाई आफूले उच्च प्राथमिकता दिएको बताउनुभयो ।
वैदेशिक लगानी आकर्षण गर्न लगानीको सुरक्षा सुनिश्चित गर्न सरकारले नीतिगत, कानुनी, संस्थागत एवम् प्रक्रियागत सुधारका काम क्रमशः कार्यान्वयन गर्दै आएको बताउँदै उहाँले ठूला लगानी ल्याउन लगानी बोर्ड नेपालले पनि निरन्तर काम गरिरहेको जानकारी दिनुभयो ।
उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनालले द्वन्द्वकालमा विदेशी लगानीमा कमी आएपनि पछिल्लो समयमा त्यसमा सुधार आएको जनाउँदै लम्बिदो राजनीतिक सङ्क्रमणका कारण सोचेअनुरुप लगानीकर्ताले नेपालमा पुँजी नलगाएका बताउनुभयो ।
















प्रतिक्रिया