३ कार्तिक २०८३, मंगलबार

यस्तो छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हालत, यात्रु चापले ट्राफिक जाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Turkish-Airlines-Airportकाठमाडौँ, २५ फागुन । चार दिनदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिवार रातिदेखि सञ्चालन भएपछि विमानस्थल आइतबार दिनभर व्यस्त रहेको छ । आज पनि उत्तिकै मात्रामा भिड लागेको छ ।

बुधबार अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमान दुर्घटना भएपछि अवरुद्ध धावनमार्ग खुलेलगत्तै विमानस्थलमा उडान र अवतरणको चाप बढेको हो ।

विमानस्थल सञ्चालनमा आएलगत्तै गएराति मात्रै १५ अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान र अवतरण गर्न भ्याए भने आइतबार दिनभरी पनि थुप्रै विमानको उडान र अवतरणको तालिका भए पनि सबैले सहज रुपमा उडान र अवतरण गर्न सकेका छैनन् ।

आज पनि उडान चाप तिव्र छ । शनिवार दिनभरी विमानस्थलको धावनमार्ग, पार्किङस्थल र ट्याक्सी वेमा विमान भरिएका थिए भने आकाशमा पनि कैयौँ विमान होल्डिङ प्रतिक्षामा देखिन्थे ।

चौबिसै घण्टा खुला राखिएको विमानस्थलमा आज बिहान ६ बजेसम्म १५ वटा र आज दिनभरमा ३८ वटा विमानले अन्तर्राष्ट्रिय सेवाबाट उडान र अवतरण गरेको विमानस्थल नागरिक उड्डयन कार्यालयका उपनिर्देशक टेकनाथ सिटौलाले बताउनुभयो ।

1425727637780_Pro_Ktm_ Airport ma Tuirkash Air (3)चार दिनपछि खुलेको अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा प्रदायकको चापले आज लामो समयसम्म आकाशमा नै प्रतिक्षारत रहेकामध्ये तीन जहाज डाइभर्ट भएर भारतको कोलकाता र लखनउमा अवतरण गर्नुपरेको थियो ।

एकैपटक धेरै विमानको उडान र अवतरण तालिकाले विमानस्थलमा चाप बढे पनि विस्तारै खुकुलो हुँदै गएको उपनिर्देशक सिटौलाले बताउनुभयो ।

हाल विमानस्थलमा पार्किङ र ट्याक्सी वेको कम क्षमताका कारण पनि उडान र अवतरणमा व्यवस्थापन गर्न कठिनाई परेको छ । विमानस्थलमा हाल एकपटकमा नौवटा जहाज मात्रै पार्किङ गर्नसक्ने क्षमता रहेको र थप वृद्धि गर्ने योजनामा आफूहरु रहेको उहाँले जानकारी दिनुभयो ।

Airportदुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको टिके ७२६ नं. को विमानलाई आवश्यक ह्याङ्गरमा पु¥याउन नसक्दा केही अवरोध देखिएको सो कार्यालयले जनाएको छ । सो जहाज हाल ट्याक्सी वेमा रहेको छ ।

शनिबार राति विमानस्थल सञ्चालन हुने वित्तिकै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सबैभन्दा पहिले नयाँदिल्ली उडान गर्नाका साथै त्यहाँबाट करिब १५० यात्री बोकेर राजधानी फर्केको थियो ।

सोही एयरलाइन्सको विमान मलेसियाको क्वालालम्पुरतर्फ प्रस्थान गरिसकेको तथा फर्केपछि अर्को गन्तव्यमा प्रस्थान गर्ने उक्त कार्यालयका ड्युटी अफिसर केशव भट्टराईले जानकारी दिनुभयो ।

विमानस्थल खुलेलगत्तै शनिवार बिहान ६ बजेसम्म १५ उडान र अवतरणबाट करिब तीन हजार यात्रुले यात्रा गरेका थिए । आइतबार दिनभरी ६५ उडान भएका छन् । दिनभरमा करिब आठ हजारले यात्रा गरेका छन् । अझै हजारौँ यात्रु उडानको पर्खाइमा रहेका छन् ।

Airportविमानस्थल खुलेपछि यही फागुन २७ गते बिहान ६ बजेसम्मका लागि चौबिसै घण्टा विमानस्थल सञ्चालन गरिने नागरिक उड्डयन कार्यालयका प्रबन्धक पूर्णप्रसाद चुडालले जानकारी दिनुभयो ।

विमानस्थल अबरुद्ध हुँदा बढेको यात्रुको चापलाई व्यवस्थित गर्न चौबिसै घण्टा उडान-अवतरणको व्यवस्था मिलाउन सो व्यवस्था लागू गरिएको हो । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल चारदिन अर्थात ८४ घन्टा अवरुद्ध भएको थियो ।

विमानस्थल अवरुद्ध हुँदा २४ हजार ३ सय यात्रु उडानको प्रतिक्षामा रहेका थिए भने त्यत्तिकै सङ्ख्यामा विभिन्न मुलुकका विमानस्थलबाट यात्रु काठमाडौँ आउने तयारीमा बसेका थिए ।

विमानस्थलमा दैनिक ४० वटा अन्तर्राष्ट्रिय उडान हुने र सोही सङ्ख्यामा अवतरण हुने हुँदा औसतमा दैनिक रु एक करोडभन्दा बढी घाटा भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।