झापा, २४ फागुन । झापाको शिवसताक्षी ७ दुधे बजारका एक व्यवसायी वेपत्ता भएका छन् ।
शनिबार ४ः ३० बजे दुधे बजारमा भेटिएका रामप्रसाद मैनाली केही समय दुधे बजारमै रहेको स्थानीयले जनाएका छन् । दुधे बजारमा नर्वदा गहना गृह सञ्चालन गर्दै आएका मैनाली सवार गाडी बेलुका ५ः १२ बजे सुरुङ्गा बजारमा उनी सवार बा. ८ च ८०७७ नम्बर प्लेट भएको कार पार्किङ्ग भएको सीसी क्यामेराबाट देखिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका पमुख नवीनकुमार घिमिरेले बताए ।
रातो रङको कालो सीसा भएको कारमा मैनालीले प्रयोग गर्ने नमस्तेको सिम भएको मोवाइल सेट समेत फेला परेको प्रहरीले जनाएको छ ।
मैनाली झापा उद्योग वाणिज्य संघ शाखा सतासीधामको तेस्रो अधिवेशनबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । सर्वसुलभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, झापाली युवा सरोकार समाज नेपालका सदस्य लगायत विभिन्न संघसंस्थामा आवद्ध रहेका छन् ।
मैनाली वेपत्ता भएसँगै उनका परिवारले अपहरण भएको आशंका गर्दै उद्दारका लागि प्रहरी प्रशासनसँग अनुरोध गर्दै इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएको वेपत्ता मैनालीका माइला दाजु डम्बरप्रसाद मैनालीले बताए ।
मैनालीको सवार गाडी बिहानसम्म सुरुङ्गामा पार्किङ्ग स्थानमै भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर गरेसँगै इलाका प्रहरी कार्यालय विर्तामोडबाट डिएसपी सञ्जय राउतको नेतृत्वमा आएको प्रहरी टोलीले घटना बारे खोज अनुसन्धान थालेको छ ।
मैनाली वेपत्ता भएपछि उद्योग वाणिज्य संघ सतासीधामले आपत्ति जनाएको छ । संघले मौखिक रुपमा प्रहरी प्रशासनलाई घटनाको सत्य तथ्य पत्ता लगाई मैनालीको सकुशल उद्दार गर्न आग्रह गरेको अध्यक्ष कमल बहादुर दाहालले बताए । अध्यक्ष दाहालले संघको तर्फबाट खोजी कार्यका लागि विशेष कदम चालिएको बताए ।
















प्रतिक्रिया