– सन्दिप भट्ट
भरतपुर, २४ फागुन । नेपाल बार एशोसियनको १३ औँ राष्ट्रिय सम्मेलन चितवनको टाँडीमा हुने भएको छ ।
चितवन जिल्ला अदालत बार एशोसिएसनको आयोजनामा यही चैतको ५ गतेदेखि ७ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गर्ने बताइएको छ ।
सम्मेलनको तयारीका सम्बन्धमा भरतपुरमा बसेको परामर्श समितिको बैठकले राष्ट्रिय सम्मेलन उद्घाटनका क्रममा प्रधानन्यायाधिस, प्रधानमन्त्री लगायतको उपस्थिती हुने बताइएको छ ।
नेपाल बार एशोसिएसनको केन्द्रीय उपाध्यक्ष टिकाराम भट्टराईले सम्मेलनका क्रममा भावी संविधानको अन्तरवस्तुमा कहाँ कमी छ भनेर छलफल गरिने बताए ।
पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेको र दोस्रो संविधानसभाले पनि निर्धारित समयमा संविधान जारी गर्न नसकेको कारण कहाँ कमी भएको छ भनेर छलफल हुने भट्टराईले बताए ।
नेपालको कानुन कस्तो छ र कस्तो खालको कानुन हुनुपर्छ भन्ने विषयमा पनि पैरबी हुने भट्टराईले जानकारी दिए । ‘हाम्रो राष्ट्रिय सम्मेलनमा कानुनी प्रकृयालाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुन्छ’ केन्द्रीय उपाध्यक्ष भट्टराईले भने, ‘राष्ट्रिय सम्मेलनबाट चितवन घोषणापत्र जारी गर्दै संविधानसभालाई जानकारी गराउने छौँ ।’
बारको राष्ट्रिय सम्मेलन प्रत्येक तीन तीन वर्षमा हुँदै आएको छ । कार्यक्रममा देशभरीबाट करिब तीन हजार कानुन व्यवसायीको उपस्थिति रहने बताइएको छ ।
कार्यक्रम अवधीभरी संविधानका अन्तरवस्तुहरु, स्वतन्त्र न्यायपालिका र कानुन व्यवसाय, मानव अधिकार र संक्रमणकालिन न्याय, देवानी÷फौजदारी कानुन, आर्थिक विकास र वाणिज्य कानुन विषयमा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।
शनिबारको कार्यक्रममा सम्मेलन तयारीका बारेमा जानकारी समेत गराइएको थियो ।
उक्त कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ का संविधानसभा सदस्य कृष्णभक्त पोखरेल, नेकपा एमाले चितवनकी उपसचिव पार्वती रावल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत शेषकान्त शर्मा, नेपाल बार एशोसिएसनकी सदस्य लक्ष्मी रावल लगायतले मन्तव्य राखेका थिए ।
















प्रतिक्रिया