काठमाडौं, १९ फागुन । उद्योगमन्त्री महेश बस्नेतले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चालाई वार्ता र सहमतिको नाम जपेर सत्ताका लागि वार्गेनिङ नगर्न आग्रह गर्नुभएको छ ।
उहाँले सरकार वार्ता र सहमतिका लागि तयार भएपनि वार्ता आउन एमाओवादीले वार्गेनिङ गर्न नमिल्ने बताउनुभएको हो । वर्तमान सरकार अहिलेसम्मकै लचिलो भएकाले वार्तामा बस्न विपक्षी दललाई उहाँले आग्रह समेत गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरको २०औँ जिल्लासभाको मंगलबार सूर्यविनायकमा उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीले गरेको वार्ताको आह्वनालाई सरकारको कमजोरीका रुपमा नलिन आग्रह गर्दै भन्नुभयो, “लचिलो सरकारले विपक्षीलाई वार्ताका लागि आह्वान गरेको छ, प्रधानमन्त्री आफैँले दुई पटक वार्ताका लागि आह्वान गर्नुभएको छ, यसलाई विपक्षीले कमजोरीको रुपमा लिनुहुँदैन, वार्ता र सहमतिमा आउनुस् ।”
वार्ता र सहमतिलाई विपक्षी दलले राजनीतिक दाउपेचका रुपमा लिन थालेको बताउँदै उहाँले यसलाई दाउपेच र बार्गेनिङका रुपमा नलिन आग्रह गर्नुभयो । विपक्षी दल वार्तामा नआए अनन्तकालसम्म संविधान निर्माण प्रक्रियालाई रोकेर राख्न नहुने बताउँदै उहाँले अब प्रक्रियाबाट अगाडि बढेरै भए पनि संविधान निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनलाई फुटाएर चुनावमा गुमेको साखलाई जोगाउन एक पक्ष लागेको उहाँले आरोप लगाउनुभयो ।
















प्रतिक्रिया