मस्को, १६ फागुन । रसियाली प्रतिपक्षी नेता तथा राष्ट्रपति भ्लादिमिर पुटिका कडा आलोचक बोरिस नेमत्सोभलाई शुक्रबार राती क्रेमिलिन नजिकै हिँडिरहेको अवस्थामा गोली हानी हत्या गरिएको छ । यस घटनाको अन्तर्राष्ट्रिय रूपमा भत्र्सना भएको छ ।
पूर्व उपप्रधानमन्त्री ५५ वर्षीय नेमत्सेभको हत्याप्रति क्रेमलिनले भत्र्सना गरेको छ । यसै साताको अन्त्यमा उहाँले प्रतिपक्षी भेलाको नेतृत्व गर्ने योजनाको अगाडि उहाँको हत्या भएको हो भने यसका कारण रसियाभर स्तब्धता देखिएको छ ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले नेमत्सोभको हत्यालाई क्रूर हत्या भन्दै भत्र्सना गर्नुभएको छ । उहाँले मस्को भ्रमणका कालमा नेमत्सोभसँग भेट गर्नुभएको थियो । उहाँले यस घटनाको निष्पक्ष रूपमा अनुसन्धान गर्न रसियालाई आग्रह गर्नुभएको छ ।

रसियाली राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले उहाँले यस अनुसन्धानलाई आफ्नो नियन्त्रणमा लिएको बताउनुभएको छ ।
क्रेमलिननजिकै एक पुलमा युक्रेनमा रसियाको संलग्नताको खुल्ला आलोचकको हत्या पेसागत हत्याको प्रमाण भएको पेस्कोभले रेडियोमा बताउनुभयो । उहाँले यो उक्साहटको कार्य भएको बताउनुभयो ।
राष्ट्रपति पुटिनको १५ वर्षको कार्यकालमा यसलाई सबैभन्दा उच्चस्तरीय हत्याको रूपमा लिइएको छ । यसले सन् २००६ मा राष्ट्रपति पुटिनको जन्मदिनमा क्रेमलिन विरोधी पत्रकार अन्ना पोलित्कोभ्स्कायालाई गोली हानी गरिएको हत्यालाई सम्झाएको छ ।
क्रेमलिनभन्दा केही मिटरनजिकै एक पुलमा एक युक्रेनी महिलासँग हिँडिरहेको अवस्थामा नेमत्सोभलाई गोली हानी हत्या गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
प्रारम्भीक सूचनाअनुसार बोल्सोइ मोस्कभोरेत्स्की पुलमा हिडिरहेको अवस्थामा एक गाडीबाट अज्ञात व्यक्तिले बोरिस नेमत्सोभलाई ७–८ पटक गोली हानेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता यलेना एलेक्सेयभाले नेमत्सोभलाई चार गोली लागेको जानकारी दिनुभयो ।
हत्या हुनुभन्दा केही घण्टाअगाडि नेमत्सोभले रसियाली जनतालाई प्रतिपक्षीले आइतबार योजना बनाएको प्रमुख भेलाका लागि सडकमा आउन आग्रह गर्नुभएको थियो ।
उहाँले लोकप्रिय इको अफ मस्को रेडियोमा युक्रेन युद्ध तत्कालै रोकिनुपर्ने प्रमुख राजनीतिक मुद्दा भएको बताउँदै राष्ट्रपति पुटिनले राजिनामा दिनुपर्ने माग गर्नुभएको थियो ।
युक्रेनको सङ्कटमा रसियाको संलग्नताका विषयमा तयार भएको एक प्रतिवेदनमा काम गरिरहनुभएका नेमत्सोभले घरेलु तथा विदेशी नीति अवरुद्ध भएको अवस्थामा यस्तो कुराको अन्त्य हुनुपर्ने बताउनुभयो ।
सोभियत कालमा अनुसन्धानशास्त्रीको रूपमा काम गर्नुभएका नेमत्सोभ निझनी नोभगोरोद क्षेत्रको गभर्नर हुनुभएको थियो । उहाँ सन् १९९० को अन्त्यतिर राष्ट्रपति बोरिस एल्तसिनको राष्ट्रपति कालमा उपप्रधानमन्त्री हुनुभएको थियो ।
सन् २००३ मा संसद छोडेपछि उहाँले अनेकौँ प्रतिपक्षी दल तथा समूहलाई नेतृत्व दिनुभएको थियो ।
राम्रो वक्ता तथा कलाकारको जस्तो छवि पाउनुभएका नेमत्सोभ महिलाबीच लोकप्रिय हुनुहुन्थ्यो । सन् २०१२ मा राष्ट्रपति पुटिनको निर्वाचन अभियानमा उहाँले प्रतिपक्षी भेलालाई प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नुभएको थियो ।
उहाँले राष्ट्रपति पुटिनको शासनकालमा भएको भ्रष्टाचार तथा गलत खर्चका विषयमा आलोचनात्मक प्रतिवेदन लेख्नुभएका छ ।
उहाँले सन् २०१३ मा रसियाले सोचीमा ओलम्पिक खेल आयोजना गर्दा खर्च भएको अनुमान गरिएको ५० अर्ब अमेरिकी डलरमा ३० अर्ब अमेरिकी डलरसम्म हराएको आरोप लगाउनुभएको थियो ।
यसलाई क्रेमलिनले अस्वीकार गरेको छ ।
घटनास्थल हेरेर प्रतिपक्षी नेता तथा पुटिनका कालका पूर्व प्रधानमन्त्री मिखाइल कास्यानोभले रसियालाई स्वतन्त्र प्रजातान्त्रिक मुलुक बनाउन बोरिसले निरन्तर रूपमा अनेकौँ वर्षसम्म गरेको सङ्घर्षको यो नतिजा भएको बताउनुभयो ।
उहाँले एक्काइसौँ शताब्दीमा सन् २०१५ मा प्रतिपक्षी नेतालाई क्रेमलिनको पर्खालसँगै हत्या गरिनु कल्पनाभन्दा बाहिरको विषय भएको बताउनुभयो ।
युक्रेनका राष्ट्रपति पेत्रो पोरोसेन्कोले फेसबुकमा नेमत्सोभ युक्रेन तथा रसियाबीच पुल भएको बताउनुभयो ।
युरोपेली परिषद्का महासचिव थोर्बजर्न जगल्यान्ड तथा बेलायतको विदेश मामिलासम्बन्धी कार्यालयका प्रवक्ताले यो स्तब्धकारी घटना भएको बताउनुभएको छ ।
ह्युमन राइट्स वाचले रसियालाई यस विषयमा निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ ।
रसियाका प्रतिपक्षी कार्यकर्ताले यस घटनाप्रति शोक व्यक्त गरेका छन् र नेमत्सोभप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
प्रतिपक्षी कार्यकर्ताहरूले मस्कोको दक्षिणपूर्वी भागमा आइतबार आयोजना गर्ने भनिएको विरोध भेला रद्ध गरेका छन् र उनीहरूले नगरको केन्द्र भएर अन्त्येष्टि यात्रा गरिने योजना बनाएका छन् । रासस/एएफपी















प्रतिक्रिया