काठमाडौं, ११ फागुन । होली एन्जल्स पब्लिक स्कुल र श्रमज्योति पब्लिक स्कुलले चौथो ईशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेका छन् । होली एन्जल्स ब्वाइज र श्रमज्योति गर्ल्सतर्फ पहिलो भए ।
संस्थागत विद्यालय संघ नेपाल (ईशान) द्वारा आइतबार आयोजित प्रतियोगिताको ब्वाइज फइनलमा होली एन्जल्सले पिक प्वाइन्ट एकेडेमीलाई १–० गोलले पराजित ग-यो । पिक प्वाइन्टका खेलाडीले गरेको आत्माघाती गोलनै निर्णायक बन्यो ।
रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स) ले तेश्रो स्थानमा चित्त बुझायो । रिम्सले राजु गोलेको निर्णायक गोलमा चाल्र्स डार्विनलाई १–० ले हरायो ।
गल्र्सको फाइनलमा जोरपाटीस्थित घरेलु मैदानमा श्रमज्योतिले चाल्र्स डार्विनलाई १–० गोलले पाखा लगायो । गीता थापाले गरेको गोलनै निर्णायक सावित भयो । तेश्रो स्थानका लागि भएको खेलमा ग्रिन तारा चाइल्ड हेभेन स्कुलले जीवन तारा स्कुललाई २–१ ले पन्छायो ।
ब्वाइजमा पिक प्वाइन्टका सविन राना मगर र गर्ल्समा श्रमज्योतिकी गीता उत्कृष्ट खेलाडी चुनिए । गर्ल्समा गीतासंगै चार गोल गरेकी ग्रिन ताराकी प्रतिभा सर्वाधिक गोलकर्ता बने ।
ब्वाइजमा ३ गोल गरेका ग्रिन ताराका प्रजा सुनवार सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । ब्वाइजमा पिक प्वाइन्टका रियाज श्रेष्ठ र गर्ल्समा ग्रिन ताराकी सीता उपाध्याय उत्कृष्ट किपर घोषित भए । ब्वाइजमा ग्रिन तारा र गर्ल्समा लिबर्टी एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह, ईशानका अध्यक्ष बालमुकुन्द कार्की, काठमाडौं जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक नारायण ढकाललगायतले पुरस्कार प्रदान गरे । तीनदिने प्रतियोगिताको ब्वाइजमा १६ र गर्ल्समा १२ गरी २८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।













प्रतिक्रिया