काठमाडौं । समुद्रपारी रहेर नेपाली कला र संस्कृतिलाई अंगाल्दै आएकी गायिका हुन् सुजाता उपाध्याय मानन्धर ।
बिगत आठ वर्षदेखि अष्ट्रेलिया बस्दै आएकी उनी बिदेशमै नेपाली गीत गाउदै आएकी छन् ।
केही दिनअघि एक चलचित्र तथा नयाँ गीति एल्बम तयारीका लागि स्वदेश फर्किएकी सुजाताले अष्ट्रेलियामै सन् २०१३ मा गीति एल्बम ‘तीन तारा’ ल्याएको बताइन् ।
एल्बमा ‘मै छोरी सुन्दरी’लगायतका केही गीत रिमेक भर्सनमा प्रस्तुत गरेकी थिइन् । तर उनलाई रिमेकभन्दा आधुनिक तथा सेन्टिमेन्टल गाउन मन पर्ने गर्दछ ।
शरीर बिदेशमा भएपनि मन र तन नेपालमै रहने बताउने उनी ७ वर्षको उमेरबाट रेडियो नेपालमा बालगीत गाएर गायन अँगालेकी हुन् ।
सुजाताले रेडियो नेपालमा गाएको बालगीत ‘साना–साना हात हाम्रा’ बालबालिका माझ अझै पनि लोकप्रिय छ ।
त्यसपछि बालगीत तथा भजनहरु गायकी उनी नर्स पेसाको माध्यमबाट अष्ट्रेलिया गएकी हुन् । बिदेशमा कामबाट बचेको समय नेपाली गीत संगीतमा आफूले लगाउदै आएको उनले सुनाइन् ।
अष्ट्रेलियामै पनि आधा दर्जनभन्दा बढी गीत रकर्ड गराएकी सुजाताको ‘पोखिएर तिमी भरि’ बोलको गीत यु–ट्युबमा निकै लोकप्रिय बन्न सफल भएको छ ।
अहिले नया एल्बमको तयारी गरिरहेकी उनले नेपाली माटो सुहाउदो देश, प्रेम र पिरतीका गीत एल्बममा समेट्न लागेको बताइन् ।













प्रतिक्रिया