२९ आश्विन २०८३, बिहिबार

चीनसंग भिड्न आठ अर्ब डलरमा युद्धकजहाज निर्माण गर्दै भारत

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

attack-aeroplane

नयाँ दिल्ली, ७ फागुन । भारतले स्थानीय उत्पादन वृद्धि गर्ने तथा चीनसँगको प्रतिद्वन्द्वीपनाको क्षमता वृद्धि गर्ने दुई पक्षीय उद्देश्यमा सात युद्धकजहाज निर्माण गर्न आठ अर्ब अमेरिकी डलर बराबरको योजनालाई स्वीकृति प्रदान गरेको जानकारी प्रतिरक्षा मन्त्रालयका अधिकारीले बिहीबार दिएका छन् ।

चीनको आधुनिक नौसैनिक युद्धक प्रणालीसँग भारतको वर्तमान क्षमता हाल कमजोर भएको अवस्थामा यस्तो रिक्तपना कम गर्न तथा भारतमै प्रतिरक्षा उपकरण उत्पादन गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा यस योजनालाई एक पाइलाको रूपमा लिइएको छ ।

पाकिस्तान तथा चीनका छिमेकी भारत हाल आफ्नो पुरानो सैनिक ‘हार्डवेयर’ प्रतिस्थापन गर्न अरबौँ अमेरिकी डलर बराबर लगानी गर्ने अवस्थामा रहेको छ । हालै उसले प्रतिरक्षाको क्षेत्रमा विदेशी लगानीको सीमालाई हटाएको छ ।

मन्त्रिपरिषद्को सुरक्षासम्बन्धी समितिले स्थानीय बन्दरगाहमा राडरबाट पत्ता लगाउन नसकिने सातवटा युद्धकजहाज निर्माण गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको प्रतिरक्षा मन्त्रालयका एक स्रोतले सोमबार एएफपीलाई बताए ।

चारवटा युद्धक जहाज मुम्बईस्थित माजागन बन्दरगाहमा निर्माण गरिनेछ भने कोलकाताको गार्डेन रिच सिपबिल्डर्स एन्ड इन्जिनियर्समा बाँकी तीन जहाज निर्माण हुनेछ ।

यी युद्धक जहाजमा राडरले पत्ता लगाउन नसकिने बनाउने प्रविधि रहने बताइएको छ ।

टाइम्स अफ इन्डियाले यसै साताको आरम्भमा उक्त समितिले आठ अर्ब अमेरिकी डलर बराबरको पारमाणविक ऊर्जायुक्त छवटा पनडुब्बी निर्माण गर्ने योजनालाई पनि स्वीकृति प्रदान गरेको उल्लेख गरेको छ ।

मे महिनामा अत्यधिक मतले विजय हासिल गरेपछि मोदीको दक्षिणपन्थी सरकारले मुलुकको सोभियतकालको सैनिक सामग्रीलाई प्रतिस्थापन गर्ने अनेकौँ प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ ।

प्रधानमन्त्री मोदी शासनमा आउनुभएपछि उहाँले भारतको क्षेत्रीय गठबन्धन पनि बलियो बनाउनुभएको छ । भारतको दुर्गम हिमाली क्षेत्रमा चीनसँग क्षेत्रीय विवाद रहेको छ ।

चीनले हिन्द महासागरमा आफ्नो आर्थिक अभिरुचि सुरक्षित बनाउन अनेकौँ आधारभूत संरचना विकास गर्न प्रयास गरिरहेको आरोप लगाउने गरिन्छ ।

गत वर्ष श्रीलङ्काको जलक्षेत्रमा चिनियाँ दुई पनडुब्बी देखा परेपछि नयाँ दिल्लीमा चासो बढेको थियो । भारतले श्रीलङ्कालाई आफ्नो परम्परागत प्रभावक्षेत्रको रूपमा हेरेको छ । रासस/एएफपी