काठमाडौँ, ७ फागुन । ग्यास विक्रेताहरुले नेसलन ट्रेडिङ लिमिटेडका कर्मचारीलाई रकम दिएर ग्यास कालोबजारीमा बेच्ने गरेको खुलासा भएको छ । नेसलन ट्रेडिङ लिमिटेड स्रोतले यस्तो खुलासा गरेको हो ।
निश्चित मापदण्डमा विक्रेतालाई ग्यास दिनुपर्ने भएपनि एउटै व्यापारीबाट कमिसन खाएर कर्मचारीले कालोबजारी गर्न ग्यास उपलब्ध गराउने गरेको खुलेको हो । विगत दुई महिनादेखि खाना पकाउने ग्यासको चरम अभाव अझै उत्तिकै हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
तर ग्यासका एजेण्टहरुले कालोबजारी गरेर ग्यास बेच्ने गरेका छन् । नेपाल आयल निगमका अनुसार अहिले राजधानी लगायत देशैभरी ग्यास अभाव छ । फाट्टफुट्ट बजारमा ग्यास पाउने गरे पनि प्रचलित मूल्यभन्दा बढी तिर्नु यतिखेर सर्वसाधारणको बाध्यता बनेको छ । बजारमा ग्यासको चरम अभाव देखिएपछि नेसलन ट्रेडिङ लिमिटेडले दुई दिन आफ्नै कार्यालयबाट सर्वसाधारणलाई ग्यास वितरण गरेको थियो ।
दिनभर ग्यास लिनका लागि सर्वसाधारण लिमिटेडको परिसरमा लामबद्ध बनेका थिए । सधैँजस्तो अभाव हुन थालेपछि पछिल्लो समयमा नपाउनुभन्दा मूल्य बढी नै तिरेर भए पनि समस्या टार्नु सर्वसाधारणको बाध्यता बनेको छ । बजारमा देखिएको ग्यासको अभावलाई कम गराउन निगम सक्रिय भएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताउनुभयो । “गत जनवरीअघि लगभग चार महिनासम्म आवश्यकताभन्दा निकै कम ग्यास आएका कारण त्यसको असर हालसम्म कायमै छ ।” उहाँले भन्नुभयो ।
“विगत वर्षको अनुभवका आधारमा जाडोको समयमा लगभग २३ हजार मेट्रिक टन ग्यास आवश्यक भए पनि चार पाँच महिनाको समयावधिमा १८ हजार मेट्रिक टनभन्दा कम ग्यास आएका कारण समस्या देखिएको हो”, उहाँले भन्नुभयो ।
गत जनवरीमा २६ हजार मेट्रिक टन ग्यास आएको प्रवक्ता घिमिरेले जानकारी गराउनुभयो । अभावको क्रमलाई अन्त्य गर्न फेब्रुअरीका लागि २९ हजार मेट्रिक टन ग्यास ल्याउन भारतीय आयल निगमसँग प्रस्ताव गरिएको उहाँले बताउनुभयो । हालसम्म १७ हजार मेट्रिक टन ग्यास आइसकेको र अरु आउने क्रममा रहेको घिमिरेले बताउनुभयो ।














प्रतिक्रिया