२९ आश्विन २०८३, बिहिबार

सुदूरपश्चिममा गुणस्तरहीन नुन छ्यापछ्याप्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salt

काठमाडौं, २४ माघ । परम्परागत प्रचलनको ढिके नुनको प्रयोगका कारण सुदूरपश्चिमका नागरिक आयोडिनको पहुँचमा पुग्न नसकेका एक अध्ययनले देखाएको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले सुदूरपश्चिममा अधिकांश नागरिक अझै पनि ढिके नुन प्रयोग गर्दै आएको जनाएको हो । जसअनुसार सुदूरमा ३० प्रतिशत नागरिक अहिले पनि गुणस्तरहीन ढिके नुन प्रयोग गर्दै आएका छन् ।

जनचेतनाको अभावका कारण अझै पनि ३० प्रतिशत नागरिकहरु ढिके नुन खाइरहेको साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड सुदूरपश्चिम क्षेत्रिय कार्यालय धनगढीले जनाएको हो । तथ्याङ्क अनुसार सुदूरमा ७० प्रतिशत नागरिक मात्रै आयोडिनयुक्त नुनको पहुँचमा छन् ।

२०५६ सालमा दुई प्रतिशत मात्रै नागरिकले आयोडिन नुनको प्रयोग गर्ने सुदूरमा १५ वर्षपछि ७० प्रतिशत पुगेको साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड सुदूरपश्चिम क्षेत्रीय कार्यालयका सहायक महाप्रबन्धक केशव प्रशाद पण्डितले जानकारी दिनुभयो । ‘पन्ध वर्ष अघि दुई प्रतिशतले मात्रै प्रयोग गर्दथे, अहिले आएर सत्तरीले प्रयोग गर्दैछन्, यो समयको परिवर्तन हो,’ उहाँले भन्नुभयो ।

भारतीय बजारबाट आउने आयोडिन नुन गुणस्तर नभए पनि यहाँका उपभोक्ताहरुले सस्तो भएका कारण सो नुन प्रयोग गरिरहेको भन्दै आयोडिन नुन सत प्रतिशत नपुगेको प्रमुख पण्डितको भनाई छ । सुदूरपश्चिमभरी १२ डिपो र सय भन्दा बढी डिलहरुबाट नुन बिक्री बितरण भईरहेको छ । सुदूरमा एक वर्षमा ११ हजार मेट्रिकटन नुन खपत हुने गरेको छ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड महेन्द्रनगरका प्रमुख नरेन्द्र थापाले सिमा क्षेत्रमा भारतीय अखाद्य नुन भित्रिन नदिन सुरक्षा निकायसंग समन्वय गररेर कडाई गरिने जानकारी दिनुभयो । सिमा क्षेत्रमा चोरी तस्करीका कारण नेपाली बजारमा आयोडिनयुक्त नुनको प्रयोग घटेको थापाको भनाई छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नुनसंगै रसायनिक मलको समेत कारोबार गरिरहेको छ ।