पाकिस्तान, २१ माघ । पाकिस्तानको सधैँ अशान्त भइरहने उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको आक्रमणमा पाँच भन्सार अधिकारीको मृत्यु भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
खैबर पाख्तुनख्वा प्रान्तको प्रान्तीय राजधानी पेशावर सहरदेखि ८० किलोमिटर दक्षिणपश्चिममा पर्ने कोहाट सहरमा ड्युटीमा रहेका भन्सार अधिकारीलाई लक्ष्यगरी अज्ञात बन्दुकधारीले आक्रमण गरेको बताइएको छ ।
तीनजना बन्दुकधारीले भन्सार अधिकारीकाहरुको एक समूहमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा चार अधिकारीको दुर्घटनास्थलमै मृत्यु भएको र अर्का एकजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
ती भन्सार अधिकारीको हत्या भएको जिल्ला प्रहरी प्रमुख सोहैब असरातले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।
भन्सार विभागका अधिकारीहरुले पनि सो घटनाको पुष्टि गरेका छन् । “हाम्रो समूहमाथि यो आतङ्ककारी आक्रमण भएको छ, यस आक्रमणमा सो ड्युटीमा रहेका सबै जनाको हत्या भएको छ”, भन्सार विभागका एकजना अधिकारीले बताएका छन् ।
पाकिस्तानमा बारम्बार यस्ता आतङ्ककारी आक्रमण हुँदै आएका छन् ।
गत डिसेम्बर १६ पेसावरमा रहेको एक सैनिक विद्यालयमामा तालिवानी आतङ्ककारीहरुले गरेको आमहत्यामा १३४ जना बालबालिकासहित १५० व्यक्तिको मृत्यु भएको थियो ।
गत जनवरी महिनाभरिमा पास्तिानमा भएका आतङ्ककारी हमलामा पाकिस्तानमा ९९ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १०४ व्यक्ति घाइते भएको तथ्याङ्क हालैमात्र सार्वजनिक गरिएको थियो । रासस/एएफपी













प्रतिक्रिया