काठमाडौँ, १२ माघ । सरकारले केही समयभित्रै नेपाल वायु सेवा निगमका लागि दुईवटा एयरवस जहाज ल्याउने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मोहनकृष्ण सापकोटाका अनुसार, एयरबसले आगामी फेब्रुअरी ७ सम्म पहिलो जहाज नेपाललाई उपलब्ध गराउने बताएको छ । जहाज आएपछि नेपालले हवाई सम्झौता भएका मुलुकका प्रमुख गन्तव्यमा उडान भर्ने तयारी गरेको सापकोटाले जानकारी दिनुभयो ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई ठूला जहाज ल्याउने सम्झौता गरिसकेको र त्यसमध्ये पहिलो जहाज छिट्टै आउन लागेको उहाँको भनाइ छ । नयाँ जहाजले भारतको राजधानी नयाँ दिल्ली, कतार, साउदी अरब, दुबई, मलेसिया, थाइल्याण्ड, हङ्कङलगायतका विभिन्न गन्तव्यमा उडान गर्ने गरी व्यावसायिक योजनासमेत तयार पारेको छ ।
प्रवक्ता सापकोटाले आन्तरिक र बाह्य दुवै क्षेत्रमा नियमित उडान गर्ने र निगमको साखलाई पुनः व्यावसायिक बनाउने लक्ष्य राखेको जानकारी दिँदै चीन सरकारले उपलब्ध गराएको जहाजमा देखिएको समस्या हल गर्न पनि मन्त्रालय र सरोकार भएका निकायसँग समन्वय गरेर काम गरिएको बताउनुभयो ।
चिनियाँ जहाजमा देखिएका सामान्य समस्याका आधारमा नकारात्मक धारणा बनाउन नहुने भन्दै उहाँले चरा ठोक्किनुजस्ता समस्या सामान्य भएको बताउनुभयो ।
यस्तै सरकारले बङ्गलादेशको ‘रिजेण्ट एयर’लाई ढाका–काठमाडौँ र मलेसियाको मालिन्दो एयरलाई क्वालालम्पुर–काठमाडौँको उडान गर्न पाउने गरी स्वीकृति प्रदान गरेको छ । पछिल्लो दिनमा चिनियाँ पर्यटक नेपाल भित्र्याएर ‘नेपाल सबै मौसम पर्यटकका’ लागि भन्ने सन्देश दिन सिचुवान एयरलाइन्सलाई उडान अनुमति दिन लागिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
यसैगरी श्रीलङ्काको श्रीलङ्कन एयरलाई पनि नेपाल आउने अनुमति दिन लागिएको जानकारी दिँदै उहाँले बौद्ध जन्मभूमिमा बौद्धमार्गी श्रीलङ्कालाई सहजरुपमा आवतजावत गर्न सहज वातावरण बनाउन लागिएको स्पष्ट पार्नुभयो ।
बुद्ध जन्मस्थल लुम्बिनी आउन चाहने श्रीलङ्काका पर्यटकले कोलम्बो–काठमाडौँ सिधा उडान हुन नसक्दा समस्या परेको यथार्थतालाई मध्यनजर गरेर उडान अनुमति दिन लागिएको हो ।
सरकारले हालसम्म ३६ देशसँग हवाई सम्झौता गरेको भएपनि २६ वटा वायुसेवा कम्पनीले मात्रै नेपालमा उडान गरिरहेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाअनुसार हाल मुलुकभित्र १० वटा वायुसेवा कम्पनीले हवाई सेवा उपलब्ध गराइरहेका छन् भने सातवटा वायुसेवा कम्पनीले हेलिकोप्टर सेवा सञ्चालन गरिरहेका छन् । प्याराग्लाइडिङतर्फ चालु आवको हालसम्म १७ वटा कम्पनीले इजाजत प्राप्त गरिसकेका छन् ।














प्रतिक्रिया