काठमाडौँ, १२ माघ । सधैँ ग्यास आयो भन्दै ग्यास विक्रेताको पसलमा जाने सर्वसाधारण ग्यासका खाली सिलिन्डर बोकेर टेकुस्थित नेसनल ट्रेडिङको कार्यालयमा लामबद्ध थिए ।
आइतबार बिहान सबेरैदेखि लाइनमा बसेका उनीहरुले ११ बजे रित्ता सिलिन्डर कार्यालयमै छोडेर भरिएका ग्यास सिलिन्डर बोकी मन्द मुस्कानसहित गन्तव्यतर्फ लागेका थिए ।
बजारमा ग्यासको चरम अभाव र कालोबजारी हुन थालेपछि टे«डिङले सबै ग्यास कम्पनीका ग्यासहरु एकै स्थानबाट उपभोक्तालाई वितरण सुरु गरेको हो ।
नेसनल टे«डिङका निमित्त महाप्रबन्धक सत्यनारायण मेहताले दैनिक रुपमा सर्वसाधारणलाई ग्यास वितरण सुरु गरिएको बताउनुभयो ।
“उद्योगीहरुलाई कुल आयातको पाँच प्रतिशत वितरण गर्न आग्रह गरेको र उनीहरुको प्रतिबद्धताअनुरुप वितरण सुरु गरिएको हो । जबसम्म सहज आपूर्ति हुँदैन तबसम्म बिक्री वितरण गरिनेछ,”–उहाँले भन्नुभयो ।
ग्यास नपाएर एकहप्तादेखि भौतारिएका बानेश्वर बस्ने दीपेन्द्रराज पौडेलले लामो समयपछि ग्यास पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
अनामनगरका एकीन्द्र अधिकारी पनि ग्यास सकिएको १५ दिनपछि भरिएको ग्यास सिलिन्डर घरमा पुर्याउँदा राहतको अनुभूति गर्दै हुनुहुन्थ्यो ।
ग्यास विक्रेता महासङ्घका प्रथम उपाध्यक्ष नवराज गौतमले भन्नुभयो “ग्यास चाहियो भनेर ग्राहकले फोन गरेर हैरान पारेपछि फोन बन्द गरे तर पसलमै आएर ग्यास चाहियो भनेर धर्ना दिन्थे तर टेकु जाऊ भनेर बच्न पाइएको छ ।”
गौतमले आफूले पनि उपलब्ध भएसम्म आउने ग्राहकलाई सहज रुपमा ग्यास वितरण गरेको बताउनुभयो ।
वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्यास विक्रेता महासङ्घ, नेपाल आयल निगम र एलपी ग्यास उद्योग सङ्घको संयुक्त पहलमा ग्यास बिक्री गरिएको हो ।
नेपाल आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले सबै ग्यास उद्योगहरुसँग समन्वय गरी उपभोक्तालाई ग्यास वितरण सुरु गरिएको र आपूर्ति सहज नभएसम्म यो कार्य जारी रहने बताउनुभयो ।
उहाँले बजार र उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै निगमले ग्यास आपूर्तिलाई बढाएको जानकारी दिनुभयो ।
ग्यास विक्रेता महासङ्घका महासचिव चन्द्र थापाका अनुसार अहिले देशभर मासिक ३० हजार मेट्रिकटन ग्यासको अभाव रहेको छ, तर १८ हजार मेट्रिकटन मात्र ग्यास आपूर्ति भइरहेको छ । सरकारले यो महिना २५ हजार मेट्रिकटन ग्यास आपूर्ति गर्ने जनाएको छ ।
विगत लामो समयदेखि बजारमा ग्यासको अभाव भएकाले २५ हजार मेट्रिकटनले पनि आपूर्ति सहज हुनसक्ने अवस्था नरहेको भन्दै महासचिव थापाले अहिलेको आपूर्तिलाई निरन्तरता दिएमात्र अबको १२ दिनभित्र अभाव हट्ने र उपभोक्ताले सहजरुपमा ग्यास पाउने बताउनुभयो ।
व्यवसायीले यो अल्पकालीन मात्र भएकाले दीर्घकालीन समाधानका लागि पर्याप्त आपूर्तिका लागि उचित नीति नियम बनाएर डिलरमा उपभोक्ताको मागबमोजिमको ग्यास पुग्न जरुरी भएको बताएका छन् ।
ग्यास बिक्री कार्यक्रमको वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले शुभारम्भ गर्नुभएको थियो ।
राजधानीमा बिक्री हुँदै आएको सबै प्रकारका ग्यास एउटै स्टलबाट साट्न पाउँदा उपभोक्तामा खुसी छाएको देखिन्थ्यो । नेसनल ट्रेडिङका अनुसार पुराना सिलिन्डर सटही गर्दै रु एक हजार ४७० मा उपभोक्ताले ग्यास लिएका थिए । आइतबार बिहान ११ देखि दिउँसो ५ बजेसम्म वितरण गरेको र सोमबार दिउँसो १ बजेदेखि ४ बजेसम्म वितरण गर्ने बताइएको छ ।













प्रतिक्रिया