वासुदेव पौडेल
काठमाडौँ, ९ माघ । संविधानसभाको निर्वाचनमा एक वर्षमा संविधान ल्याउने दलहरूको पूर्व प्रतिबद्धताअनुसार संविधान नआउँदा सर्वसाधारणमा निराशा छाएको छ ।
माघ ९ को बिहानीमा नयाँ लोकतान्त्रिक संविधान पाउने आशामा सुतेका प्रत्येक सर्वसाधारण दलको अर्कमण्यताका कारण फेरि पनि संविधान आउन नसकेकोले जनताको आशा निराशामा परिणत भएको छ ।
धादिङ घर भई कलङ्कीमा सामान्य तरकारी व्यवसाय चलाउँदै आएका दिनेश भट्ट निर्वाचनका क्रममा दलहरूले गरेका प्रतिबद्धताअनुसार निर्धारित मितिमा संविधान आउने कुरामा यस पटक भने आशावादी हुनुहुन्थ्यो ।
संविधान सम्बन्धमा आफू धेरै जानकार नभए पनि संविधानपछि देशमा शान्ति र विकास हुन्छ भन्ने कुरामा विश्वास जागेको उल्लेख गर्दै उहाँले थप्नुभयो, “हामीजस्ता गरिखानेका लागि काम गरेर खाने वातावरण हुनुप¥र्यो, बन्द र हडताल सधैँंका लागि रोकिनुप¥यो ।”
भट्ट जस्तै कीर्तिपुरमा किराना व्यवसाय सञ्चालन गर्दै आएका स्याङ्जाका विष्णु न्यौपानेको पनि उस्तै गुनासो रहेको छ ।
पहिलो संविधानसभाको निर्वाचनमा सहभागी हुन एक महिनाअघि नै गाउँ पुगेका न्यौपानेमा पहिलो संविधानसभा संविधानबिना बिघटन भएपछि दोस्रो निर्वाचनमा भने त्यो उत्साह घटिसकेको थियो ।
“हात्ती आयो, हात्ती आयो फुस्सा भने झैँ माघ ८ मै संविधान आउँछ भन्ने नेताको रटाई अन्ततः व्यर्थ देखिएको छ । देश अझै अस्थिर बन्ने होकी भन्ने सवै सर्वसाधारणमा चिन्ता थपिएको छ”– उहाँले भन्नुभयो ।
संविधान निर्माणमा देखिएको अन्यौलताले युवा विद्यार्थीमा पनि उत्तिकै चिन्ता छ । लाखौँं युवा बर्सेनि विदेशिएको वर्तमान अवस्थामा स्वदेशमा रही अध्ययन गरिरहेका युवामा देशको बढ्दो अस्थिरताले आफ्नो भविष्य के हुने भन्ने गम्भीर चिन्ता थपेको छ ।
तनहुँ घर भई विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा स्नातकोत्तर तहमा अध्ययनरत दिनेश सुवेदी दोस्रो संविधानसभाको निर्वाचनका क्रममा गरिएका समयमा संविधान दिने प्रतिबद्धतालाई भुलेर दलहरू फेरि बन्द हडताल र तोडफोडमा उत्रदा आम नेपाली युवा आफ्नो अनिश्चित भविष्यबारे सोच्न बाध्य भएको बताउनुहुन्छ ।
पटक–पटक हुने गरेका बन्द, हडताल र तोडफोडका संस्कृतिले देश दिनदिन असफल राष्ट्र बन्नेतर्फ लागेको सुवेदीको भनाइ छ । रासस
















प्रतिक्रिया