काठमाडौँ, ९ माघ । प्रमुख राजनीतिक दलको बिहीबारको बैठकमा बनिसकेको सहमति पनि एकाएक भाडिँदा नेताहरु समेत आश्चर्यमा परेका छन् ।
संविधानसभाको पहिलो बैठक चल्न नसकेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा बिहीबार अपरान्ह बसेको प्रमुख तीन दल र मधेशी मोर्चासहितको बैठकमा विपक्षीको मोर्चाको प्रमुख घटक संयुक्त मधेशी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदार अति नरम रुपमा प्रस्तुत भए । सबै विषयमा सहमति गरेर जान सकिने भन्दै गच्छदारले विवादित विषयमध्ये शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीका बारेमा गत सोमबार भएको सहमतिलाई मस्यौदा समितिमा लैजाने, संघियताको विषयमा छ देखि आठसम्ममा सहमति गर्ने र बहुपहिचानमा आधारित रहने भन्ने सहमति गर्ने प्र्रस्ताव राखे । संघीय प्रदेशको सीमांकन दुई महिनाभित्र गर्ने र प्रदेशको नाम पनि प्रदेश सभाले नै राख्ने गरी संविधान जारी गर्ने गच्छदारको प्रस्तावलाई मधेशी मोर्चाकै अर्का नेता उपेन्द्र यादवले पनि सहमति जनाए । जसमा सत्तारुढ दल समेत लचिलो देखियो । करिब साँझ बजेको सन्दर्भ हो यो ।
बैठकमा निर्धारित समयमै संविधान दिन नसकेकोमा आत्मालोचनासहितको संयुक्त वक्तत्व निकाल्ने र प्रमुख दलका शीर्ष नेताहरुले संविधान जारी गर्न नसक्नुको कारणसहित संविधानसभालाई सम्बोधन गर्ने विषयमा छलफल समेत भयो ।
प्रचण्डले टाउको हल्लाउँदै यत्तिमात्र बोले – ‘हुन्छ, हामीलाई पनि त्यो प्रस्ताव मान्य छ, पार्टीमा आन्तरिक छलफल गरेर निर्णय गर्छु।’ त्यसपछि बैठक सकारात्मक रुपमा अगाडि बढेको सन्देश सञ्चार भयो ।
तर, केहीबेरमै फेरि प्रचण्डले बोली फेरे । अनि एकाएक बनिसकेको सहमति भाँडियो ।
काँग्रेसका सहायक महामन्त्री पूर्णबहादुर खड्का भन्छने, विपक्षी दलहरुका तर्फबाट गच्छदार र यादवको प्रस्ताव काँग्रेसले स्वीकार्दा समेत प्रचण्डले मानेनन्, छिनभरमै कसरी सहमति भाँडियो थाहै भएन ।
अबस्था यस्तो रह्यो कि, पानी बाराबारको अवस्थामा पुगेका काँग्रेस र एमालेसँग वार्ताका लागि पुगेका प्रचण्ड उल्टै विजयकुमार गच्छदार र उपेन्द्र यादवसँग सशंकित बनेको देखियो । अन्ततः प्रमुख दलहरुको बैठक निष्कर्षविहीन बन्यो । र, पुरानै अवस्थामा संविधानसभामा बैठक संचालन भयो ।
आधा घण्टाका लागि दिउँसो पौने ३ बजे स्थगित गरिएको संविधानसभाको बैठक राति साँढे ८ बजे फेरि बस्यो । तीन घण्टासम्म सम्म नाराबाजी चलेपछि जनतासँग माफी माग्दै संविधानसभाका अध्यक्षले संविधान लेखनका लागि प्रक्रिया सुरु भएको घोषणा गरे । संविधानसभामा अवरोध गर्ने संस्कृतिले संविधानसभाबाट कहिल्यै संविधान बन्न नसक्ने संविधानसभा अध्यक्षले बताए ।
संविधान दिने बाचा असफल भएकोमा जनतासँग प्रचण्डले माफी त मागे, तर संविधान ल्याउन रोकेकोमा गर्व लागेको पनि बताए । मध्यरातमा संविधानसभाबाट निस्कँदै प्रचण्डले संचारकर्मीलाई भने– ‘माघ ८ मा संविधान ल्याउन नदिनु हाम्रो सफलता हो । प्रतिगामी संविधान ल्याउन हामीले रोक्यौँ ।’
एमाले अध्यक्ष केपी ओलीले भने, ‘माघ ८ माओवादीहरुको सफलता हो । तर यो संविधानसभा असफल हुँदैन्, यसले संविधान दिन्छ ।’
गच्छदार र यादवले छलफल नै नगरी प्रमुख दलको बैठकमा प्रस्ताव गरेपछि विपक्षी मोर्चामा समेत खटपट देखिएको छ । यही विषयमा छलफल गर्न र साझा धारणा तय गर्न एमाओवादीले बिहानै मोर्चाको बैठक बोलाएको छ । तर, मोर्चा भित्रैबाट दुई खाले कुरा आउनुले थप चिसोपना बढाउने संकेत देखा परिसकेको छ ।
संविधानसभका अध्यक्ष सुवास नेम्वाङ पेलेरै जाने मनस्थितिमा देखिएका छन् । उनले संविधानसभामा प्रक्रिया सुरु भएपनि सहमतिको ढोका भन्ने खुल्ला रहने बतााएका छन् । दलहरुले सहमतिको नारा जपिरहे पनि सहमति भने अनिश्चित देखिएको छ । आखिर सहमतिको चाबी कस्को हातमा छ ? खोजी अहिले त्यसैको छ ।
















प्रतिक्रिया