२९ आश्विन २०८३, बिहिबार

पाकिस्तानमा चार्ली हेब्दोबिरोधी प्रदर्शनमा एएफपीका फोटोग्राफरलाई गोली प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कराची, २ माघ । पाकिस्तानको कराचीस्थित फ्रान्सेली वाणिज्यदूतावासबाहिर धार्मिक दलका कार्यकर्ताहरूले शुक्रबार आयोजना गरेका चार्ली हेब्दोबिरोधी प्रदर्शनको फोटो खिच्दैरहेका एएफपीका फोटोग्राफर असिफ हसनलाई गोली लागेको छ र निज गम्भीर रूपमा घाइते भएका छन् भने शल्यक्रियापछि हाल उनी खतरामुक्त रहेको बताइएको छ ।

हसन जानाजान आक्रमणको लक्ष्य नबनेको प्रहरी तथा प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरूले जमात–ए–इस्लामी नामक धार्मिक दलका विद्यार्थी शाखाका प्रदर्शनकारीले प्रहरीमाथि गोली हानिरहेको र हसन यी दुईको भिडन्तबीच परेको बताए ।

उक्त दलले यसका लागि आफ्नो जिम्मेवारी अस्वीकार गरेको छ भने यसका लागि प्रहरीमाथि आरोप लगाएको छ ।

हसन उपचारका लागि रहेका कराचीस्थित जिन्हा अस्पतालका चिकित्सक सीमी जमालीले हसनको फोक्सोमा गोली लागेको र छाती भएर निस्किएको जानकारी दिइन् । उनले हसन हाल खतरामुक्त रहेको र आफ्ना सहकर्मीसँग कुरा गरेको बताइन् ।

उनले हसनलाई पछाडिबाट गोली लागेको पनि जानकारी दिइन् ।

वरिष्ठ प्रहरी अधिकारी अब्दुल खालिक सेखले त्यहाँ करिब ३५० प्रदर्शनकारी रहेको, उनीहरूले फ्रान्सेली वाणिज्यदूतावास प्रवेश गर्न चाहेको र प्रहरीले उनीहरूलाई रोक्न खोज्दा उनीहरूले प्रहरीमाथि गोली चलाएको बताए ।

घटनास्थलमा रहेका एक प्रत्यक्षदर्शीले उक्त कुरा पुष्टि गरे ।

इस्लामी जमियात–ए–तालाबा कराचीका प्रमुख हाफिज बिलाल रमजानले प्रहरीले जथाभावी गोली प्रहार गरेको आरोप लगाए ।

निजले असिफ हसनका साथमा प्रदर्शनका समयमा घाइते हुनेप्रति प्रहरी जिम्मेवार भएको दाबी गरे । रासस/एएफपी