८ कार्तिक २०८३, आइतबार

अब जुम्लाका सर्वसाधारणले ७२ प्रकारका औषधि निशुल्क पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

drugsजुम्ला, २८ पुस । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट सो क्षेत्रका जनताले अब ७२ प्रकारका औषधि निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा पारसकुमार आचार्यले आइतबार पत्रकार तथा सर्वसाधारण नागरिकको सहभागितामा बिरामी बुद्धि तामाङलाई निःशुल्क औषधि दिएर सो कार्यको उद्घाटन गर्नुभयो ।

कर्णालीका जनताको स्वास्थ्य सेवा पाउने अधिकारमा अन्याय भएको महसुस गर्दै तिनीहरुको हितार्थ बजेट विनियोजन गरी उपलब्ध औषधि वितरण गर्न सुरु गरिएको उपकुलपति आचार्यले बताउनुभयो ।

विशेषगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बहिरङ्ग र अन्तरङ्गबाट सेवा लिन आउने सबैलाई सरल, सहज र प्रभावकारी स्वास्थ्य सेवा दिने विश्वास कर्णालीवासीलाई उहाँले दिलाउनुभयो ।

उपकुलपति आचार्यले भन्नुभयो–“गत वर्षहरुमा पनि प्रतिष्ठानले कर्णालीका जनतालाई रामोसँग सेवा दिँदै आइरहेको र आगामी दिनमा यसले यहाँको जनतालाई सर्वसुलभ सेवा दिनेमा कुनै शङ्का छैन ।”

करिब सात विशेषज्ञ चिकित्सक र करिब दर्जन बराबर मेडिकल अफिसर रहेको प्रतिष्ठानले ठूला शल्यक्रिया पनि करिब डेढ वर्षपहिले देखि गर्दै कर्णालीका सयौँ जनताको ज्यान बचाएको छ ।

औषधि सहजै र निःशुल्क पाउने भएपछि यहाँका जनताको स्वास्थ्य अवस्थामा छिटो र उल्लेख्य सुधार आउनुको साथै आयु पनि लम्बिने अपेक्षा गरिएको छ ।