२९ आश्विन २०८३, बिहिबार

उद्योगमन्त्रालयको पहलमा ४० मेगावाट विद्युत उत्पादन हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnetकाठमाडौँ, १३ पुस । चिनी मिल उत्पादक संघले सुख्खा याममा बार्षिक ४० मेगावाट विद्युत उत्पादन गर्न सक्ने बताएका छन् ।
आइतबार उद्योगमन्त्रीको अध्यक्षतामा उद्योगमन्त्रालयमा विद्युत प्राधिकरण, उर्जामन्त्रालयका प्रतिनिधिसँगको बैठकमा चिनी उत्पादक संघका प्रतिनिधिहरुले यस्तो कुरा बताएका हुन् ।

उद्योगमन्त्री महेश बस्नेतले चिनीमिलबाट उत्पादन हुने विद्युत खरीदका लागि सबै पक्ष तयार हुँदा पनि प्रक्रिया अगाडी बढ्न नसक्नु आफैमा विडम्बना भएको बताउनुभयो ।

उहाँले चिनी मिलबाट विद्युत तत्काल खरीदका लागि विद्युत ऐनमा रहेका केही बाधाहरुलाई अध्यादेश मार्फत भएपनि संशोधन गर्न सकिने जनाउनुभयो ।

मन्त्री बस्नेतले यस कार्यका लागि उद्योगमन्त्रालयले उचित पहल चाल्ने र विद्युत खरीदको काम छिट्टै शुचारु हुने कुरामा चिनी उद्यमीलाई विश्वस्त हुन आग्रह गर्नुभयो ।

उद्योगमन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले उखु मिलबाट उत्पादन हुने इथाइनोल डिजेलमा दुई प्रतिशत सम्म मिसाउन सकिने हुँदा यसबाट चिनी उत्पादक र किसान प्रत्यक्ष लाभान्वित हुनसक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

उहाँले चिनी मिलबाट उत्पादन हुने विद्युत उपयोगका सम्बन्धमा उद्योग सचिव र उर्जा सचिवको छलफलबाट चाडैँ टुङ्गोमा पुग्ने जानकारी दिनुभयो ।
चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले उर्जामन्त्रालयले विद्युत खरीद गर्ने प्रत्याभूति दिएमा आगामी बर्षको खुख्खा याममा आठ रुपियाँ ५० पैसा प्रति युनिटको दरले बार्षिक ४० मेगावाट विद्युत उत्पादन गर्न सक्ने जानकारी दिनुभयो ।

उहाँले उर्जामन्त्रालयको अन्तर विभागको समन्वयन नहुँदा विगत चार बर्षदेखि विद्युत खरीद प्रक्रिया अगाडी बढ्न नसकेको बताउनुभयो ।