काठमाडौँ, १३ पुस । उद्योग मन्त्रालयले औद्योगिक करिडोर स्थापनाका लागि सुनसरी–मोरङ्ग, विरगञ्ज–सिमरा, भैरहवा–बुटवल र नेपालगञ्ज–कोहलपुरको अध्ययन गर्न समिति गठन गरेको छ ।
उद्योगमन्त्रालयका प्रवक्ता यमकुमारी खतिवडाले दुई महिना भित्र समग्र भौतिक पूर्वाधारको अध्ययन प्रतिवेदन पेश गर्ने गरी तीन सदस्य समिति गठन भएको जानकारी दिनुभयो ।
उक्त अध्ययन अनुगमन समितिको संयोजकमा उद्योगमन्त्रालय प्रविधि महाशाखाका सह–सचिव ऋषिराज कोइराला र सदस्यमा औद्योगिक प्रवद्र्धन महाशाखाका उपसचिव विष्णुप्रसाद ढकाल, प्राविधिक निर्देशक, उद्योग विभाग रहनुभएको छ ।
मन्त्रालयका प्रवक्ता खतिवडाले औद्योगिक करिडोर स्थापना भएसँगै उक्त क्षेत्रमा सञ्चालन भएका उद्योगहरुलाई विशेष सुविधा हुने प्रस्ताव औद्योगिक व्यवसाय ऐनमा भएको बताउनुभयो । उहाँले औद्योगिक व्यवसाय ऐन मन्त्रिपरिषदमा पेश भई विधेयक समितिमा छलफलको क्रममा रहेको समेत जानकारी दिनुभयो ।
‘औद्योगिक करिडर स्थापनाको कानुनी आधार औद्योगिक व्यवसाय ऐन हो । त्यसैले जति चाँडो ऐन बन्छ त्यहि रफ्तारमा यो काम अघि बढ्छ,’ प्रवक्ता खतिवडाले भन्नुभयो ।
देशको अर्थतन्त्रको समुचित विकासका लागि औद्योगिक लगानीको वातावरण बनाउने, उत्पादन र रोजगारीको अवसर बृद्धि गर्ने, उपलब्ध श्रोत अधिकतम उपयोग गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्न औद्योगिक करिडोर स्थापना गर्न लागिएको हो ।















प्रतिक्रिया