बागलुङ, १० पुस । बागलुङको बिहुँका किसानले यो समयमा मात्रै पाँच करोड बराबरको सुन्तला बिक्री गरेका छन् ।
अनुकूल समयका कारण यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि किसानले उक्त मूल्य बराबरको सुन्तला बिक्री गरेका हुन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएको बिहुँ गाविसको ४७ हेक्टर क्षेत्रफलमा व्यावसायिक सुन्तला खेती हुँदै आएको छ ।
गत वर्ष ९०० टन सुन्तला फलेको उक्त गाविसमा यो वर्ष सो परिमाण बढ्ने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक घरबाट न्यूनतम ५० हजारदेखि पाँच लाखसम्मको सुन्तला बिक्री हुने गरेको छ ।
व्यवसायीहरू किसानको बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । सुन्तला बारीमै पुग्ने व्यापारीले बोट नै एकमुष्ट खरिद गर्ने सुन्तला किसान बालानन्द कँडेलले बताउनुभयो ।
उहाँका अनुसार खुद्रा बेच्दा प्रतिकिलो ४० पर्ने गरेको छ । सुन्तला खरिदका लागि सदरमुकाम बागलुङ बजारलगायत काठमाडौँ, चितवनजस्ता ठूला सहरबाट पनि व्यापारी कृषकको घरमै आउने गरेको किसान कँडेलले बताउनुभयो । कँडेलले आफ्नो बगैँचामा फलेको सुन्तला तीन लाख थोक मूल्यमा बिक्री गरेको जानकारी दिनुभयो ।
















प्रतिक्रिया