इनरुवा, ६ पुस । सप्तरीको कृषि विकास कार्यालयमा कार्यरत राम निरौलाको हत्याका मुख्य अभियुक्त मानिएका एक व्यक्तिलाई १३ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ ।
कर्मचारी निरौलाको हत्या गरेका भनिएका सुनसरीको श्रीपुरजब्दी–६ निवासी ४५ वर्षीय ब्रह्मदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको विशेष टोलीले घरबाटै पक्राउ गरेको स्थानीय जनताले बताएका छन् ।
पक्राउ परेका यादवलाई अहिले जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । सर्वोच्च अदालतको फैसलाले छ वर्ष कैद तोकेकाले जिल्ला अदालतमा उपस्थित गराई त्यहीँको निर्देशनअनुसार कारागार चलान गरिने प्रहरी स्रोतले जनाएको छ ।
यता सुनसरीका प्रहरी उपरीक्षक मसउद आलम खाँले जिल्लामा फरार अभियुक्तलाई पक्राउ गर्ने क्रम जारी राखेको बताउँदै यो घटनामा प्रहरीलाई सफलता मिलेको प्रतिक्रिया दिनुभयो ।
यसअघि सोही घटनामा आरोपित जगनारायण यादवलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरिसकेको छ ।















प्रतिक्रिया