वीरेन्द्रनगर, २२ मंसिर । सुर्खेतको पोखरीकाँडा कालोखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा ४९ यात्रु घाइते भएका छन् ।
कालिकोटबाट टीकापुरका लागि छुटेकोे ना ४ ख ६८५७ नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गको कालोखोलामा आइतबार साँझ दुर्घटना भएको थियो ।
बस दुर्घटनामा परी घाइते हुनेहरुको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेलाई वीरेन्द्रनगरबाट गएको एम्बुलेन्सले उद्धार गरी उपचारका लागि क्षेत्रीय अस्पताल पु¥याएको थियो ।
कुनाथरी प्रहरी चेकपोस्टबाट खटिएका प्रहरीको टोलीले घाइतेको उद्धार गरेको क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशमान श्रेष्ठले जानकारी दिए ।
बसमा क्षमताभन्दा बढी यात्रु राखेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
घाइतेमध्ये १० जनालाई नेपालगन्ज उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार बस दुर्घटनामा परि मृत्यु हुनेमा अधिकांश बाजुरा जिल्लाका रहेका छन् ।
बस सहयोगीले गाडी चलाएको र क्षमताभन्दा बढी यात्रु चढेका कारण बस दुर्घटना भएको घाइतेले बताएका छन् ।
घाइते निम कार्कीले कामका लागि भारत जानका लागि हिँडेका बाजुरा जिल्लाका ३३ जनाले एउटै टिकट लिएको बताए ।
गाडी चालकले नचलाइ सहचालकलाई चलाउन दिएपछि बस पल्टिएको उनले उल्लेख गरे ।
घाइते लालजंग दमाईंले पैसा कमाउनका लागि भारत हिँडेको बताउँदै आफूहरुसँग अरु साथी पनि आएको जनाए ।
चलाउन नजान्नेलाई चलाउन दिएपछि बस २०० मिटर तल खसेको उनको भनाइ छ ।
बसको क्षमता ३३ सिट मात्र रहेकोमा ६७ जनाभन्दा बढी यात्रुलाई चढाएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार दुर्घटनामा परि बाजुराको गोत्री गाविसका लालवीरे दर्जी, दुर्ग विष्ट, दिल सार्की, लाल दर्जी, मनराज विष्ट राम दर्जी, पंखे सार्की, पणे सार्कीलगायतको मृत्यु भएको छ ।
यसैगरी बस चालक सुर्खेत छिन्चुका मीनबहादुर बुढा र सहयोगी भवी खत्रीको पनि मृत्यु भएको छ भने आठ जनाको सनाखत हुन बाँकी रहेको सुर्खेत प्रहरीले जनाएको छ ।















प्रतिक्रिया