गोरखा, २० मंसिर । एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टीमा २१ औँ शताव्दीको जनवाद लागू गर्ने सहमति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको बताएका छन् ।
गृह जिल्ला भ्रमणका क्रममा आज गोरखामा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले एमाओवादीको आगामी केन्द्रीय समितिको बैठकमा २०६० सालमा रोल्पाको दुम्लामा बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको २१ औं शताब्दिमा जनवादको प्रस्ताव लागू गर्ने विषयमा छलफल हुने बताए ।
‘प्रचण्ड र मेरोबीचमा लामो छलफलपछि त्यो दस्तावेज पारित गरिएको थियो’, उनले भने, ‘हामीले एउटै व्यक्ति आजीवन पदमा रहने प्रणाली हटाउनुपर्छ । एउटै व्यक्तिले सबै पद लिने प्रणालीको पनि अन्त्य गरिनुपर्छ भन्ने प्रस्ताव पारित गरेका थियौं ।’
उनले भने, ‘अरु काममा लागेकाले लागू गर्न चाहीँ सकिएको थिएन । २१ औं शताब्दीमा जनवादको विकास भन्ने प्रस्ताव लागू गरेर जानुपर्छ ।
त्यसको निम्ति छिट्टै महाधिवेशन आयोजना गर्ने तथा कार्यविभाजन गरेर जाने भन्ने सैद्धान्तिक सहमति भएको छ ।’
‘अध्यक्ष प्रचण्डले अहिलेसम्म कुशलतापूर्वक नेतृत्व गर्नुभयो । हामी सबैले पूर्ण समर्थन गरेर नै यहाँसम्म आएका हौं,’ वरिष्ठ नेता भट्टराईले भने, ‘अब उहाँको आफ्नै चाहना पनि र मेरो भनाइ पनि निश्चित अवधि पार गरेपछि पूरानो नेतृत्वले वैचारिक–राजनीतिक काम गर्नुपर्छ ।
सांगठनिक र राज्यका अन्य जिम्मेवारी नयाँ नेतृत्वलाई दिँदै जानुपर्छ ।’
नेता भट्टराईले महाधिवेशनपछि बैचारिक–राजनीतिक काममा केन्द्रित हुने बताए । उनले सांगठनिक काम नयाँ साथीहरुलाई हस्तान्तरण गर्नु पर्ने उल्लेख गरे ।















प्रतिक्रिया