
जुम्ला, १८ मंसिर । डाइक्लोफेनेक विषादीका कारण गिद्ध संरक्षणमा परेको प्रभावलाई दृष्टिगत गरी मुलुकका ३८ वटा जिल्लासँगै जुम्लालाई पनि ३९औँ डाइक्लोफेनेक मुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्ला र नेपाल पक्षी संरक्षण सङ्घ काठमाडौँको संयुक्त आयोजनामा जिल्लास्थित सरोकारवालाको सहभागितामा जिल्लालाई डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा नेपाल पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत भूपाल नेपालीले नेपालमा हाल नौ जातका गिद्ध अस्तित्वमा रहेको र पहिलेको तुलनामा नेपालमा पनि ९१ प्रतिशत गिद्ध घटेकाले यसको संरक्षणका लागि ६ वटा जिल्लाका सातवटा ठाउँमा जटायु रेस्टुरेन्ट खोलिएको जानकारी दिनुभयो ।
जिल्ला वन अधिकृत हेमलाल अर्यालले विश्व सूचना र प्रविधिले मात्र नभई वातावरणीय दृष्टिले पनि एक गाउँ बनेको औँल्याउँदै पृथ्वीमा उत्पत्ति भएका पशुपक्षी र जीवात्मालाई संवेदनशील प्राणी मानवले सही प्रयोग गर्दा त्यसको राम्रै लाभ लिन सकिने बताउनुभयो ।
जिल्ला पशुसेवा कार्यालय जुम्लाका निमित्त कार्यालय गोविन्दबहादुर महतले पशु उपचारका लागि डाइक्लोफेनेक उत्पादन, बिक्री वितरण, आयात, निर्यात, भण्डारण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइसकेकाले त्यसो गर्ने जोकोहीलाई औषधि ऐन, २०३५ अनुसार ३ वर्ष जेल र पाँच हजार जरिवाना गर्ने प्रावधान रहेको उल्लेख गर्नुभयो ।
निमित्त स्थानीय विकास अधिकारी क्षेत्रबहादुर बुढ्थापाले तीव्र गतिमा बढिरहेको जनसङ्ख्याको खाद्य आपूर्ति गर्न बाध्यात्मक अवस्था आइपुगे पनि सरकारले नयाँ प्रयासको थालनी गरेको बताउनुभयो ।















प्रतिक्रिया