कञ्चनपुर, १६ मंसिर । जिल्लाको दक्षिणी भेग बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा न्यानो झोला अभाव भएको छ ।
न्यानो झोला अभाव हुँदा अस्पतालमा सुत्केरी हुन आउने गर्भवती महिला र शिशुलाई चिसोबाट बच्न समस्या परेको केन्द्रले जनाएको छ ।
केन्द्रका निमित्त कार्यालय प्रमुख महेशसिंह खत्रीले केन्द्रमा रहेका न्यानो झोला कात्तिक मसान्तमै सकिएको र न्यानो झोला अभाव हुँदा सुत्केरी आमा र शिशुलाई चिसोबाट जोगाउन समस्या परेको बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय महेन्द्रनगरमा आव २०७०–०७१ मा दिइएका २०० थान न्याना झोला सकिएपछि केन्द्रमा त्यसको अभाव भएको हो ।
केन्द्रमा मासिक २० देखि ३० महिला सुत्केरी हुन आउने गर्दछन् ।
न्यानो झोला सकिएको बारे जिल्लामा समेत जानकारी गराइसकेको निमित्त केन्द्र प्रमुख खत्रीले बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत बलबहादुर महतले बजेट नआउँदा न्यानो झोला आपूर्ति गर्न नसकिको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–“बजेटको अख्तियारी आएको छैन, बजेट आएपछि टेन्डर हुन्छ ।”
जिल्लाभरिमा न्यानो झोला अभाव भएको भन्दै डेढ महिनाभित्रै न्यानो झोला आपूर्ति गरिने जनस्वास्थ्य कार्यालय प्रमुख महतले बताउनुभयो ।
जनस्वास्थ्य कार्यालय कञ्चनपुरले चालु आव २०७१–०७२ का लागि ४२ हजार न्यानो झोला वितरण गर्ने लक्ष्य लिएको छ ।
सरकारले आमा र शिशुको मुत्युदर घटाउने उद्देश्यले देशैभरि आव २०७०–०७१ देखि ‘न्यानो झोला’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
यो कार्यक्रम ग्रामीण भेगका सुत्केरी केन्द्रमा लागू भएको छ ।
ग्रामीण भेगका महिला सुत्केरी हुँदा उचित चाहिने कपडा नभएका कारण आमा र शिशुको स्वास्थ्य बिग्रने खतराबाट जोगिन सरकारले यस्तो कार्यक्रम सञ्चालन गरेको जनस्वास्थ्य कार्यालय प्रमुख महतले जानकारी दिनुभयो ।















प्रतिक्रिया